सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा २३ लाख ६४ हजार बढी मुल्यका वाइफाइ डिभाइस विद्यालयलाई 

२०७९ फाल्गुन २२, ०८:११ खबर संवाददाता

डोटीः डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ।

पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो। शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए।

उनले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास रहेको समेत बताए। बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन्। पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ।

पालिकाले यसअघि २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ। विद्यालयलाई सिमसहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि दुई वर्षसम्म आवश्यक शुल्क दूरसञ्चार प्राधिकरण बेहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापनले बेहार्नेछ।

विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य ७३ हजार नौ सय रहेको छ। २३ लाख ६४ हजार ८सय मुल्य बराबरका वाइफाइ डिभाइस ३२ विद्यालयलाई हस्तान्त्रण गरिएको छ।–रासस

कमेन्ट लोड गर्नुस