सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमावर्ती क्षेत्रबाट ९० प्रतिशत लागुऔषध भित्रिने गरेको खुलासा

दुव्र्यसनीको दलदलमा सुदूरपश्चिम 

२०७९ फाल्गुन २२, ०६:५२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम दुव्यसनीको दलदलमा फस्दै गएको देखिएको छ। कैलाली र कञ्चनपुरमा सीमावर्ती क्षेत्रबाट ९० प्रतिशत लागुऔषध भित्रिने गरेको खुलेको छ। कैलाली र कञ्चनपुरबाट दैनिक पक्राउ पर्नेमा सबैभन्दा बढी खैरो हिरोइनका दुव्र्यसनी रहेको प्रहरी तथ्याङ्कले देखाएको छ। कैलालीमा भजनी र त्रिनगर नाकाबाट सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन्।

यस्तै कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगरबाट बढी संख्यामा दुव्र्यसनी पक्राउ पर्ने गरेको प्रहरीले बताएको छ। कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्र लागुऔषध ओसारपसार र प्रयोगको ‘हटस्पट’ बन्न थालेको भन्दै चिन्ता गरिएको छ। खुल्ला सीमानाका कारण कैलाली र कञ्चनपुरमा भारतबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको हो।

भारततर्फ लागुऔषध विरुद्ध कडाइ नहुँदा नेपाली प्रयोगकर्ता दैनिक भारतीय सीमावर्ती बजार पुगेर लागुऔषध ल्याउने गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए। ‘यताका प्रयोगकर्ता भारतीय बजारमा गएर सानोसानो परिमाणमा किनेर ल्याउने गरेको देखिन्छ,’ उनले भने, ‘भारतमा लागुऔषध खरिद गर्न सजिलो भएर उनीहरू भारत जाने र खानको लागि ल्याउने गरेको देखिन्छ।

सीमाक्षेत्रबाट सबैभन्दा बढी लागुऔषधका प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन्।’ लागुऔषध खरिदका लागि कारोवारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाईएको छ। अधिकांशलाई प्रहरीले सीमा क्षेत्रबाटै पक्राउ गर्ने गरेको छ। सुदूरपश्चिममा नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गरेको छ। तर, प्रहरी नियन्त्रण र कडाइसँगै युवाहरूमा विचलन आउन नदिने उपायको खोजी गरिनुपर्ने धनगढीका नागरिक अगुवा प्रमोद पाठकले बताए।

‘नियन्त्रणसँगै निदानको खोजी पनि गरिनु पर्छ,’ उनले भने, ‘युवा पुस्तामा आशा जगाउने, सकारात्मक भावको पैदा गराउने र अवसरको सिर्जना भयो भने निराश भएर लागुऔषधको प्रयोगकर्ता कोही पनि हुँदैनन्।’ युवायुवतीको ठुलो संख्या लागुऔषधको दुर्व्यसनमा फसेकाले नियन्त्रणसँगै सरोकारवाला निकायले जनचेतनाका कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने कटक भण्डारी फाउन्डेसन धनगढीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए।

‘युवाहरूमा जनचेतना फैलाउन सरोकारवाला पक्षको ध्यानाकर्षण हुन जरुरी छ,’ उनले भने,’ ‘जनचेतनाका फैलाएर लागुऔषधको कुलतमा फस्नै नदिने उपाय पनि खोज्नै पर्छ।’ प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनीमा १५ देखि ३५ वर्ष उमेरका युवायुवतीको संख्या सबैभन्दा बढी छ। पछिल्लो समय लागुऔषध प्रयोग र ओसारपसार गरेको कसुरमा पक्राउ पर्नेमा युवतीको संख्या समेत ह्वात्तै बढेको छ।

लागुऔषध प्रयोगकर्ताले भारतबाट सबैभन्दा बढी खैरो हिरोइन ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पालले बताए। ‘पक्राउ पर्नेमा विगतभन्दा अहिले युवतीको संख्या पनि बढेको छ,’ उनले भने, ‘युवतीहरू प्रयोगकर्ता र ओसारप्रसार गरेको अभियोगमा पक्राउ पर्ने गरेका छन्।

चालु आर्थिक वर्षको माघसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका ५२७ नमुनामा ६० प्रतिशत खैरो हिरोइनका छन्। लागुऔषधका अन्य नमुनामा १५ प्रतिशत गाँजा र चरेस, १३ प्रतिशत नाइट्रोजेपाम, ८ प्रतिशत ट्रामाडोल क्याप्सुल, २ प्रतिशत कोरेक्स÷कोडिन, १÷१ प्रतिशतले बुप्रिफेन एम्पुल र डाइजेपाप÷प्रोमिथाजिन प्रयोग र ओसारपसार हुने गरेको तथ्याङ्कले देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस