सिआईबीको टोली बैतडी पुग्यो, शव बुझ्न परिवारको अस्वीकार
अनुसन्धान कर्मचारी बुडाल मृत्यु प्रकरण
बैतडीः पिकनिक मनाउन जाँदा मृत फेला परेका जीवन बुडालको मृत्युको कारण पत्ता लगाउन सिआइबीको टोली बैतडी पुगेको छ। बुडाल फागुन १३ गते मृत फेला परेका थिए। घटना शङ्कास्पद रहेको भन्दै सँगै पिकनिक मनाउन गएका १२ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। बुडालको शव १० दिनदेखि जिल्ला अस्पताल बैतडीमा छ।
प्रहरी नियन्त्रणमा रहेका १२ जनामाथि ७ दिनको म्याद थपेर अनुसन्धान चलाइरहेको प्रहरीले १२ दिनका लागि म्याद थप गरेको छ। बुडालको हत्या आशंका गर्दै परिवारजनले १२ जनाकै नाममा किटानी जाहेरी दिएको थियो। बुडाल मृत्यु प्रकरणमा पाँच दिनदेखि प्रदेश मातहतको सिआईबीको टोली पनि बैतडी पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले बताए।
दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगर चमेलिया नदि किनारमा मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथीहरूसँगै पिकनिक गएका थिए।
मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै १० दिनदेखि शव बुझ्न मानेका छैनन्।
चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए। पानी कम भएकै ठाउँमा बुडाल मृत फेला परेकाले घटना रहस्यमय हुन सक्ने भन्दै परिवारले सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेका छन्। परिवारले छानबिनका लागि १६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
को–को छन् प्रहरी नियन्त्रणमा?
मृतक बुडालकी पत्नी अनिषाले ज्यान सम्बन्धि कसुरमा १२ जनाविरुद्ध किटानी जाहेरी दिएपछि बैतडी प्रहरीले सँगै गएकाहरुलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।
राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए। उनी साथी र इष्टमित्रहरुसँग शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक खान भन्दै सेरा हुँदै जाडाबगड पुगेका थिए। सेरासम्म म १ ज २२२ नम्बरको जिपमा गएको उक्त टोली त्यहाँबाट पैदलै जाडाबगरस्थित चौलानी किनार पुगेको थियो। जाडाबगर एकान्त र सुनसान स्थल भएकाले पिकनिकका लागि धेरैले यो गन्तब्य रोज्ने गरेका छन्। माछा मार्दै पिकनिकमा रमाइलो गर्ने उद्धेश्यले बुडालसहितका १२ जना त्यहाँ पुगेका थिए।