सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई बजेट सक्ने चटारो : एक दिनमै एक अर्बको अख्तियारी

२०७५ चैत्र १८, ०३:३३ खबर संवाददाता

आर्थिक वर्ष सकिन साढे ३ महिना भन्दा कम समय बाँकी रहेका बेला विकासे अड्डाहरुलाई बजेट खर्च गर्ने चटारोले छोएको छ। वर्षभरी काम नगरी बस्ने तर आर्थिक वर्षको अन्तमा आएर तात्ने परिपाटीले निरन्तरता पाउँदा यसपाली पनि विकासे अड्डाहरुलाई बजेट खर्च गर्न हतारो भएको छ। आर्थिक वर्षका दुई चौमासिकमा न्युन बजेट खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकार पनि यो कुराबाट अछुतो रहन सकेन।

आर्थिक वर्ष सकिन साढे ३ महिना मात्र बाँकी रहेका बेला झण्डै ३७ प्रतिशत बजेट खर्चको अख्तियारी नदिएको सरकारले पछिल्लो समय दैनिक अबौँको अख्तियारी दिईरहेको छ। हाल सम्म १० प्रतिशत पुँजीगत बजेट खर्च गर्न सकेको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विषयगत कार्यालयलाई समेत बजेट खर्च गर्न हतारो भएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रायले  मात्र एक दिनमै एक अर्ब बजेट खर्च गर्ने अख्तियारी सम्बन्धीत कार्यालयलाई दिएको छ।

मन्त्रालयको लेखा शाखाका अनुसार आईतबार हिजो मात्र एक अर्ब बजेट खर्च गर्ने अख्तियारी दिएको हो। लेखा अधिकृत कृष्णबहादुर शाहीले  प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रम तर्फ सडक र सिचाईका योजना कार्यान्वयनका लागि विनीयोजन भएको ३६ करोड सहित अन्य कार्यक्रम तर्फ गरी एक अर्बको अख्तियारी दिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि २५ अर्ब ६ करोड कुल बजेट रहेकोमा शुक्रबार सम्म झण्डै ३७ प्रतिशत अथात् नौ अर्ब ५७ करोड बजेटको अख्तियारी नदिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। थप बजेटको अख्तियारी आउने क्रम जारी रहेको  प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी यज्ञराज पाण्डेले बताए।
  
     

कमेन्ट लोड गर्नुस