सड्वाबाबा तालमा निर्माण गरिएका ५६ पिलरमा उपमहानगरको डोजर
धनगढीः धनगढी उपमहानगरपालिकाले आइतवार वडा नम्बर ७ मा रहेको कित्ता नम्बर ४ को सड्वा बाबा तालको अतिक्रमण हटाउने काम गरेको छ। साढे ९ कट्ठा क्षेत्रफलमा फैलिएको सडुवा बाबा तालमा घर बनाउन हालिएका ५६ पिलर उपमहानगरले डोजर लगाएर भत्काएको छ।
पिलर निर्माण भएको दुई वर्षपछि उपमहानगरले ताल खाली गराउन डोजर चलाएको हो। सार्वजनिक ताल खाली गर्नु राम्रो भए पनि धनगढीका सबै अतिक्रमण गरिएका ताल खाली गर्नुपर्ने तालमा पिलर खडा गरेका रामसेवक रानाले बताए। ‘तालको अतिक्रमण हटाउनु राम्रो हो तर सबै तालको हट्नु पर्यो,’ उनले भने, ‘मेलै मात्रै हालेको पिलर हटाएर अरूको नहटाए त राम्रो भएन नि! सबै तालमा भएको अतिक्रमण हटाए मेयरसाबलाई माला हाल्छु।’
सड्वा बाबा तालमा २०७७ को फागुनमा रामसेवक रानाले पिलर हालेर घर बनाउने प्रयास गरेका थिए। यो तालमा अन्य व्यक्तिले पनि पक्की तथा कच्ची घर बनाएका छन्। घर बनाएर बसेकाहरूलाई उपमहानगरले ताल खाली गर्न केही समय दिने जनाएको छ। स्थानीयले भने वडा नम्बर ७ मा रहेका अन्य तालमा पनि मान्छेहरूले तीन चार तले घर बनाएर बसेको बताएका छन्।
एक ठाउँमा मात्रै खाली गरेर अन्यत्रको ताल खाली नगरेर अन्यय गर्ने काम नहोस् भनेर स्थानीयले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्। रामसेवक रानाले वडा नम्बर ७ र धनगढीको १९ वटै वडामा अतिक्रमण गरिएर बनाएका चार पाँच तले घर पनि उपमहानगरले भत्काउन सक्नुपर्ने बताए।
वडा नम्बर ७ मा रहेका मनिया ताल, आटा गडैया ताल, सकेला ताल, भानुचोकमा रहेको लम्बा ताल पनि अतिक्रमण गरिएको स्थानीयले बताएका छन्। सड्वा बाबा ताल नजिकै रहेको कपनिया ताललाई २०५२ सालमा ऐलानी प्रमाणित गरेर भोक चलन गर्ने काम भइरहेको स्थानीयको गुनासो छ। तर उपमहानगरपालिकाले किन्तु, परन्तु नभनेर खोलानाला, नहर, कुलो, ताल र सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउने नगरप्रमुख गोपाल हमालले बताए।
‘हामी जनप्रतिनिधी निर्वाचित भएर आएपछि सबैले अतिक्रमण हटाउने कुरालाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘जनताको साथ र समर्थन भयो भने जनप्रतिनिधिले राम्रो काम गर्दै जान्छन्। पाँच वर्षसम्म सबै किसिमको अतिक्रमण हटाउन हामी सबै जनप्रतिनिधि लागेका छौँ।’ बैशाख ३० मा भएको चुनावबाट निर्वाचित भएर आएका धननगढी उपमहानगपालिकाका जनप्रतिनिधिले पाँच वर्षभित्र सबै खाले अतिक्रमण खाली गर्ने बताउँदै आएका छन्। वडा नम्बर २ र ३ मा पनि नहर तथा कुलो खुलाउने काम भइरहेको छ।