सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वर्षे धानभन्दा चैते धानको उत्पादन बढी

२०७९ फाल्गुन २०, १०:४४ नारायण अवस्थी

धनगढी: कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा चेतै धान खेतीको क्षेत्रफल हरेक वर्ष बढी रहेको छ। डुबान हुने क्षेत्रका किसानको चैते धान खेतीमा आकर्षण बढेको हो। कैलालीमा चेतै धान खेती हुने क्षेत्रफल हरेक वर्ष १ सय हेक्टर हाराहारीमा बढी रहेको छ। चैते धानको उत्पादकत्व पनि राम्रो र तीनै तहको सरकारले सहयोग गर्ने भएकाले किसानको आकर्षण बढेको हो। 

बाढी र डुबानको समस्या भएका भजनी, टिकापुर नगरपालिका र कैलाली, जोशीपुर र जानकी गाउँपालिकाका किसानहरूले चेतै धान लगाउन थालेका छन्। भजनी नगरपालिकामा मात्रै ७० प्रतिशत चैते धान खेतीको क्षेत्रफल रहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए।

'गत वर्ष कैलालीमा १ हजार ८० हेक्टर क्षेत्रफलमा चेतै धान खेती गरिएको थियो। यो वर्ष भने करिब १ सय बढी हेक्टर क्षेत्रफलमा थप चैते धान खेती गरिने भएको छ, उनले भने, 'चैते धानको उत्पादकत्व  वर्षे धानभन्दा १० देखि १५ प्रतिशत बढी हुने, धान सहजै बिक्री हुने र रोग किराको प्रकोप नहुने भएकाले डुबानको कारण वर्षे धान हुनै नसक्ने क्षेत्रमा चेतै धान खेती गर्नु राम्रो छ।' 

चैते धान खेती गर्न चाहने किसानलाई मल, बिउ, सिँचाइ, उपकरण र बजारीकरणमा संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने गरेका छन्। चिउराका लागि चैते धान राम्रो हुने भएकाले कैलालीका चिउरा मिलहरूले चैते धान खोजीखोजी खरिद गर्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले बताए।

'चैते धानको उत्पादकत्व प्रति हेक्टर ५ टन अर्थात ५० क्वीन्टल रहेको छ। चैते धान खेती गर्न किसानले माघमा बेर्ना राखिसक्ने र फागुन भित्र रोपाइँ गरिसक्नुपर्ने हुन्छ, 'उनले भने, 'चैते धान जेठ १५ देखि असार १५ सम्म भित्र्याउन सकिन्छ भने धान काटेपछि मलको व्यवस्था गर्न सके काटेको धानबाट फेरि बोट पलाएर धान फलाउन सकिन्छ।'

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस