सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

२०७९ फाल्गुन १९, ०३:४९ खबर संवाददाता

काठमाडौंः आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध जितका लागि १ सय ८० रनको लक्ष्य पाएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ रन बनायो। पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले। हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए। गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए।

सेसे बाउ र कप्तान असद भालाले समान ११÷११ रन बनाए। नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २÷२ तथा कुशल मल्ल,सन्दीप लामिछाने र करण केसीले समान १÷१ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए। सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए।

कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए। करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए। सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए। यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो। पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो। नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ। नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ। पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ।


 

कमेन्ट लोड गर्नुस