सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पाँचतारे होटल, कहाँ गयो १५ तले होटलमा दुई अर्ब लगानीको विषय?

२०७९ फाल्गुन १९, १०:१७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–७ मा पर्ने हरैयामा पाँचतारे होटेल खुल्ने चर्चा थियो। सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल खोल्ने भन्दै गत वर्ष शिलान्यास नै गरिएको थियो।

आइडिया ग्रुपले हरैयामा ‘आइडिया होटेल एन्ड क्यासिनो’को गत साउनमै कांग्रेस नेता डाक्टर शशांक कोइरालाले शिलन्यास गरेका थिए। आइडिया ग्रुपमा गैरआवासीय नेपालसहित चिनियाँहरु पनि साझेदार हुने भन्दै निकै चर्चा गरिएको थियो। गत वर्ष शिलान्यास गरिएको होटल निर्माणको काम सञ्चालकले दाबी गरेअनुसार काम भने हुन सकेको छैन्।

आइडिया ग्रुपले दुई बिगाहा क्षेत्रफलमा होटेल निर्माण सुरु गरेको दाबी गरेको हो। होटेलमा १५० कोठा रहने बताइएको छ। होटेल सञ्चालनमा आउँदा दुई अर्बभन्दा बढी लगानी हुने अनुमान  पनि गरिएको छ। होटेलको १५औँ तलामा हेलिप्याड निर्माण गरिने उल्लेख छ।

होटेलमा पूर्ण क्षमताको क्यासिनो सञ्चालन गरिने छ, जहाँ १५ सय जनाको क्षमता हुनेछ। सिमावर्ती भारतीय पर्यटकलाई लक्षित गरेर क्यासिनो सञ्चालन गर्ने समेत सञ्चालकको दाबी छ। होटेलमा इन्फिनिटी स्वीमिङ पुल, स्काइ वार, स्काइ वाक, रुफटप हेलिकोप्टर ल्यान्डिङ हेलीप्याड, रेष्टुरेन्ट, क्याफे, जीम साउनालगायत सुविधाको परिकल्पना गरिएको छ। 

हङकङमा मुख्य कार्यालय रहेको आइडिया ग्रुपका मुख्य लगानीकर्ता गैरआवासीय नेपालीहरु भए पनि चिनियाँहरु पनि साझोदार रहने बताइएको छ। ग्रु्पको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन् भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङ त्से रहेका छन्। कैलालीमा निर्माण गर्न लागिएको पाँचतारे होटेलमा आइडिया गु्रपसहित पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको पनि लगानी रहनेछ।

कमेन्ट लोड गर्नुस