सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा टेलिमेडिसिन सेवा सुरू, भिडियो कन्फ्रेन्सबाटै विरामीलाई विशेषज्ञ परामर्श

२०७९ फाल्गुन १७, १०:३४ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ। मङ्गलवारदेखि प्रदेशका जिल्ला अस्पताल र अन्य अस्पतालमा टेलिमेडिसिन सेवा दिन थालिएको हो।

सेती प्रादेशिक अस्पतालबाट भिडियो कन्फ्रेन्समार्फत चिकित्सक तथा विरामीलाई विशेषज्ञमार्फत स्वास्थ्य परामर्श, उपचार  र निदानात्मक सेवा प्रदान गरिने छ। जसबाट सेतीको विशेषज्ञ सेवा भर्चुअल माध्यमबाट अन्य अस्पतालले प्राप्त गर्ने छन्।

भिडियो कन्फ्रेन्समार्फत सेतीका विशेषज्ञ चिकित्सकहरूले टेलिमेडिसिन सेवामार्फत उपचार परामर्श, रिपोर्ट परीक्षण, लक्षण र विरामीको अवस्थाको पहिचान गरेर जिल्लाका अस्पतालमा रहेका चिकित्सकलाई प्रभावकारी उपचार गर्न सहयोग गर्ने टेलिमेडिसिन सेवाका फोकल पर्सन वरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।

‘टेलिमेडिसिन सेवाबाट भर्चुअल माध्यमबाट अन्य अस्पतालमा विशेषज्ञ सेवा दिन सकिने छ’ उनले भने, ‘टेलिमेडिसिन सेवामा जोडिएका अस्पतालका चिकित्सकले लेखेर, बोलेर या भिडियो कन्फ्रेन्समार्फत विरामीको उपचारबारे सन्देश छोड्ने छन् भने सेतीका विशेषज्ञ डाक्टरहरूले तालिकाअनुसार अस्पतालबाट आएका समस्याको समाधान गर्ने उपाय बताउने छन्।’

टेलिमेडिसिन सेवा सञ्चालन भएपछि दुर्गम जिल्लाका विरामीले त्यहीँको अस्पतालमा सेती अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। विशेषज्ञ चिकित्सकको अभावमा जिल्लामा उपचार गर्न नसकिने विरामीको पनि टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सको निगरानीमा सम्बन्धित अस्पतालमै उपचार गर्न सकिने छ। जसबाट विरामीले उपचार गर्न धनगढी आउनुपर्ने बाध्यता हट्ने सेती प्रादेशिक अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले बताए।

‘टेलिमेडिसिन सेवा सुरू भएसँगै जिल्ला तथा अन्य अस्पतालमा उपचार नपाएर धनगढी या अन्यत्र गएर उपचार गराउनुपर्ने बाध्यता कम हुनेछ,ु उनले भने, ‘जिल्लाका अस्पतालमा उपचार गर्न सकिने विरामीको त्यहीँ उपचार गर्न र रेफर गर्नुपर्ने विरामीलाई अन्य अस्पताल पठाउन सहज हुनेछ।

’टेलिमेडिसिन सेवामार्फत सेतीका विशेषज्ञ चिकित्सकले जिल्लाका अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिन पनि सहज हुनेछ। यसका साथै जिल्लामै उपचार गर्न सकिने स्वास्थ्य समस्याको उपचार गर्न धनगढी आउनुपर्ने बाध्यता हट्ने छ। 
टेलिमेडिसिन सेवामार्फत नागरिकले सहज स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठुलो अस्पताल भएकाले सेवा विस्तार गर्न प्रदेश सरकार सेती अस्पताललाई सहयोग गर्न सदैव तत्पर रहेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले बताए। ‘सेती प्रादेशिक अस्पताल प्रदेशकै सबैभन्दा ठुलो अस्पताल हो’, उनले भने, ‘अस्पताललाई सबै किसिमको सहयोग गर्न प्रदेश सरकार सदैव सकारात्मक छ। सेतीको क्षमता विस्तार गर्न सरकारले पहल गर्नेछ।’

सेती प्रादेशिक अस्पतामा टेलिमेडिसिन सेवा सुरू भएसँगै जिल्लामा रहेका अस्पतालहरूलाई विरामीको उपचार गर्न सहज हुने भएको छ। जिल्लाका अस्पतालमा कार्यरत स्वास्थ्य जनशक्तिले सेतीका विशेषज्ञ चिकित्सको मार्गदर्शनमा बसेर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस