सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी खोज्दै प्याकेजमा सहमति, पाउलान् त मुख्यमन्त्रीले विश्वासको मत?

२०७९ फाल्गुन १७, ०७:२९ नारायण अवस्थी

धनगढीः मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत लिन ढिलाइ भएको छ। गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति खोजेको छ।

काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले माओवादीलाई सहमत गराएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी थालेका छन्। तर मन्त्रालयको भागबन्डा मिलाउन भने माओवादीले चाहेका मन्त्रालय काँग्रेसले दिन तयार हुनुपर्ने देखिएको छ।

विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका काँङ्ग्रेसका कमलबहादुर शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ। शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका काङ्ग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार छन्। तर,माओवादी केन्द्रले भने शीर्ष नेतृत्वको निर्णय पर्खेको छ। यता, मुख्यमन्त्री शाह माओवादी सहभागी नभए पनि फागुन २१ भित्रै विश्वासको मत लिने र गठबन्धन रहका दलका शीर्ष नेताको निर्णयअनुसार पछि पद बाँडफाँट गर्ने मुडमा देखिएका छन्। 

'फागुन २१ गते अगाडि नै विश्वासको मत लिने तयारी छ,' उनले भने, 'पछि राष्ट्रपति निर्वाचन पनि छ त्योभन्दा अगाडि विश्वासको मत लिने विषयमा सबै दलहरूसँग छलफल भइरहेको छ।'

यसअघि एमाले नेतृत्वको सरकार ढालेको नागरिक उन्मुक्ति पार्टी भने मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारीमा लागेको बुझिएको छ। तर नागरिक उन्मुक्तिले यो विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।

एमाले नेतृत्वमा बनेको सरकारमा विनाविभागीय मन्त्री रहिसकेका सुदूरपश्चिममा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा पार्टी रहेको बताएका छन्। अहिले शीर्ष नेतासँग छलफल गर्न काठमाडौंमा रहेका भट्टले पनि २१ गतेभित्रै प्रदेश सरकारले विश्वासको मत लिने बताएका छन्। उनले प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने बताएका छन्।

'सरकारमा सहभागी हुने विषयमा छलफल चलिरेहको छ तर टुङ्गो लागेको छैन, शीर्ष नेताहरूको बिचमा पनि छलफल भइरहेको छ,' उनले भने, '२१ गते भित्रै विश्वासको मत दिने कुरामा एक दुई दिनमा निर्णय हुन्छ, हामी प्याँकेजमै सबै कुराको सहमति होस् भनेर छलफलमै छौँ।'

चुनावको समयममा सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा माओवादीका नेता खगराज भट्टले गर्ने कुरा काँग्रेस सभापति शेरबहादुर देउवाले नै बताउने गरेका थिए। चुनावपछि एकाएक राजनीतिक समिकरणमा फेरबदल आउँदा नेकपा एमाले नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री हुनुपर्ने बाध्यता माओवादी संसदीय दलका नेता भट्टलाई आइलागेको थियो। तर, अहिले भने महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने लबिङ माओवादी केन्द्रको छ।

अहिले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय काँङ्ग्रेस र अर्थ मन्त्रालय समाजवादीले लिएको छ । माओवादी र उन्मुक्ति पार्टी पनि सहभागी भएपछि भने मन्त्रालय हेरफेर हुने देखिन्छ ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस