कृष्णपुरमा ‘नागरिकसँग मेयर’ अब विशेषज्ञसहित निःशुल्क स्वास्थ्य सेवा
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति लिएको छ। स्वास्थ्य उपचार सहज बनाउन नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रम’ सञ्चालनमा ल्याएको हो।
‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तरगत नगरपालिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति बनाएको छ। नगपालिकाले स्वास्थ्य प्रोफाइल बनाएरै घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिएको छ। नागरिकले बिरामी परेर उपचार गराउँदा विपन्न हुने अवस्था नआओस् भनेर हरेक वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको नगरप्रमुख हेमराज ओझाले बताए।
‘हाम्रो नगरपालिकामा मजदुर र निम्न आय भएका नागरिक बढी बसोवास गर्छन्,’ उनले भने, विपन्न परिवारको औषधि उपचार गर्दैमा उठीवास नहोस् भनेर ‘नागरिकसँग मेयर’ कार्यक्रम लागु गरिएको हो। यो कार्यक्रम नियमित चलाउने योजना छ।’ कृष्णपुर नगरपालिकाले महिला, बालबालिका, विपन्न र सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिक र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति लिएको छ।
कृष्णपुर स्वास्थ्य चौकीबाट भने २४ सै घण्टा स्वास्थ्य सेवा दिने व्यवस्था मिलाइएको छ नगरप्रमुख ओझाले बताए। ‘एम्बुलेन्स सेवा र आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिविरमा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्न ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत काम भइरहेको छ। कृष्णपुर स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरेर २४ सैं घण्टा स्वास्थ्य उपचारको प्रबन्ध मिलाइएको छ।
स्वास्थ्य चौकीबाट २४ सैं घण्टा सेवा दिने कृष्णपुर नगरपालिका देशमै पहिलो पालिका हो,’ नगरप्रमुख ओझाले भने। विपन्न वर्गले स्वास्थ्य उपचार गराउँदा घरखेत बिक्री गर्ने अवस्था नआओस् भनेर हरेक वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना ल्याइएको र धनगढीको रक्त सञ्चारबाट कृष्णपुरका नागरिकलाई निःशुल्क रगत पाउने व्यवस्था मिलाइएको नगरप्रमुख ओझाले बताए।
दुईटा सास्थ्य चौकी र १२ वटा आधारमूत स्वास्थ्य केन्द्र रहेको नगरपालिकामा बिरामीलाई उपलब्ध स्वास्थ्य सेवा र औषधि पूर्ण निःशुल्क गरेको छ। कृष्णपुर स्वास्थ्य चौकीमा भने एमबिबिएस डाक्टरको व्यवस्था गरेर २४ सै घण्टा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। नगरपालिकामा मजदुर र गरिवीको रेखमुनि रहेका नागरिकको संख्या अत्यधिक भएकाले स्वास्थ्य उपचार र सार्वजनिक शिक्षामा लगानी बढाउने योजना नगरपालिकाको रहेको नगरप्रमुख ओझाले बताए।
उनले भने, ‘शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी बजेट छुट्याएर आर्थिक उन्नतिको आधार तयार गर्नुपर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ।’ ९ वडा रहेको कृष्णपुर कञ्चनपुरको सबैभन्दा ठुलो र चुरेफेदीसम्म फेलिएको नगरपालिका हो। करिव ३७ प्रतिशत थारू जनसंख्या रहेको पालिकामा थारू समुदायमा सिकलसेल एनिमियाको प्रकोप रहेकाले धनगढीको रक्त सञ्चार केन्द्रबाट कृष्णपुरका नागरिकले निःशुल्क रगत पाउने व्यवस्था मिलाइएको छ।