सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीमा डुंगा दुर्घटना, १२ बालबालिकासहित ५९ जनाको मृत्यु

२०७९ फाल्गुन १५, ०७:१२

इटालीमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा १२ जना बालबालिका सहित ५९ जनाको मृत्यु भएको छ। डुंगामा चढेका मध्ये अझै पनि ३० जना भन्दा बढी बेपत्ता रहेको आशंका छ। दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै अवतरण गर्ने क्रममा जहाज फुटेको बताइएको छ।

दुर्घटनामा बचेकाहरूका अनुसार डुंगामा १ सय ५० जना सवार रहेका थिए। मृतकहरुको शव समुद्र किनारमा रहेको रिसोर्ट नजिकैबाट निकालिएको थियो। तट रक्षकका अनुसार दुर्घटनापछि ८० जनाको जीवितै उद्दार गरिएको थियो। डुंगामा कति जना सवार रहेका थिए भन्ने वास्तविक संख्या भने अझै पनि स्पष्ट हुन सकेको छैन।

उद्दारकर्मीहरुले डुंगामा २ सयभन्दा बढी सवार रहेको अनुमान गरेका छन्। सो संख्यामा डुंगामा सवार रहेका भए अझै पनि ६० जनाभन्दा बढी मानिस बेपत्ता रहेको अनुमान छ। दुर्घटनाग्रस्त डुंगा केही दिन अघि टर्कीबाट हिडेको थियो। डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु रहेका थिए। द्वन्द्व र गरिबीका कारण प्रत्येक वर्ष ठूलो संख्यामा एसियाली र अफ्रिकी मुलुकबाट आप्रबासीहरु इटाली जाने गरेका छन्।

कमेन्ट लोड गर्नुस