सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा यो वर्ष तोरीको उत्पादन बढ्ने

२०७९ फाल्गुन १४, ०३:४३ नारायण अवस्थी

धनगढीः कैलालीमा यो वर्ष तोरीको उत्पादन बढ्ने भएको छ। यो वर्ष हिउँदे झरी नपरेका कारण गत वर्षभन्दा कम्तिमा ७ प्रतिशतले तोरीको उत्पादन बढ्ने अनुमान गरिएको हो। किसानले तोरी खेती गर्दा तीन बाली भित्र्याउन पाउने हुँदा तोरी खेतीमा किसानको आकर्षण बढ्दो छ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा तेलहन बाली तोरीको उत्पादन राम्रो हुन्छ। कैलालीको १३ वटै पालिकामा किसानले तोरी खेती गर्दै आएका छन्। धान खेतीपछि किसानले तोरी लगाउने गरेका छन्। किसानले एकल तथा घुसुवा बालीका रुपमा तोरी खेती गर्ने गरेका छन्। तोरी खेती गर्न सहज र बजार सजिलै पाउने भएकाले तोरी फलाउने किसानको संख्या बढी रहेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि अधिकृत श्यामराज जोशीले बताए।

'तोरी खेती गर्न सजिलो छ उत्पादन भएको बिक्री गर्न पनि सजिलो छ,' उनले भने, 'पहिले घरमा प्रयोग गर्न पुग्ने हिसावले तोरी लगाउथे भने अहिले मूल्य राम्रो पाउने भएकाले तोरी खेतीमा कैलालीका किसानको आकर्षण बढेको छ।'

कैलालीमा गत वर्ष १३ हजार ९५१ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो। गत वर्ष तोरी लगाउने समय र हिउँदमा पनि पानी पर्दा उत्पादन घटे पनि यो वर्ष मौसम अनुकुल भएकाले उत्पादन बढ्ने कृषि अधिकृत जोशीले बताएका छन्।

'गत वर्ष अधिक वर्षाका कारण कैलालीमा १३ हजार २९९ टन तोरी उत्पादन भएको थियो। यो वर्ष अनुकुल मौसम भएकाले कम्तिमा ७ प्रतिशत उत्पादन बढ्ने अनुमान गरेका छौँ। तथ्याङ्क संकलनको काम भइरहेको छ,' जोशीले भने।

विगतमा किसानले घरेलु प्रयोगमा पुग्ने हिसाबले मात्रै तोरी खेती गर्थे भने अहिले भने बजारमा बिक्री गर्न पनि बढी क्षेत्रफलमा खेती गर्न थालेका छन्। तोरी लगाउँदा तीन वटा बाली भित्र्याउन पाउने, खेतीपाती गर्न सहज हुने, बजारमा तोरीले राम्रो मूल्य पाउने र सहजै बिक्री हुने भएकाले किसानको तोरी खेतीमा आकर्षण बढेको कृषि अधिकृत जोशीले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस