सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा नेपाल–भारतको संयुक्त बैठक

२०७९ फाल्गुन १४, १२:५५ खबर संवाददाता

बैतडीः झुलाघाटमा नेपाल–भारतको संयुक्त बैठक भएको छ। नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।

पिथौरागढको झुलाघाटस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा आयोजित बैठकमा सीमा सुरक्षा र तस्करी नियन्त्रण लगायतमा दुबै देशका अधिकारी मिलेर जाने निर्णय भएको हो। दुबै देशका अधिकारीहरुले नेपाल–भारत बीच अनाधिकृत रुपमा प्रयोग भइरहेका मार्गमा रोक लगाउनेमा विशेष जोड दिएका छन्।

५५ औँ बाहिनीका कमाण्डेन्ट एसके शर्माको अध्यक्षतामा भएको सो बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक घटनाको सूचना आदान–प्रदान गर्ने, झुलापुल बाहेक अन्य अनधिकृत बाटो (टायर–ट्यूब) बाट हुने आवागमनमा रोक लगाउने र मानव तस्करी नियन्त्रण गर्नेमा दुबै देशका अधिकारी सहमत भएका छन्।

बैठकमा बैतडीका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लालबहादुर नेगी, नेपाल प्रहरीका प्रहरी निरीक्षक लोकराज जोशी, प्रहरी चौकी जुलाघाटका सई योगेशबहादुर पाल, सशस्त्र प्रहरीका सई रघुनाथ जोशी सहभागि थिए। भारतको तर्फबाट भने झुलाघाट प्रहरी थानाका निरीक्षक पीसी जोशी, भन्सार निरीक्षक शिबेन्द्र पाण्डे, आईबीका प्रशांत कुमार, धर्मेन्द्र कुमार, जी कम्पनीका निरीक्षक रणवीर सिंह, सूचना निरीक्षक गणेश सिंहलगायत सहभागि थिए।

कमेन्ट लोड गर्नुस