यू– १९ एशिया छनोटमाः कुवेतलाई नेपालले दियो ३ सय ४४ रनको विशाल लक्ष्य
काठमाडौंः नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ।
कप्तान देव खनाल र ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसँगै उक्त आंकडा जोड्न नेपाल सफल भएको हो। मलेक क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको छ।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रन बनाए। कुमालले १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन बनाए। एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईजना ब्याटरले शतक बनाएको पहिलोपटक हो। ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए।
आकाश त्रिपाठी २ रनमा रन बाहिरिए। विशाल विक्रम केसी १४ बलमा ४ चौकासहित २३, दीपक बोहरा ९ बलमा ४ चौकासहित १९, दीपक डुम्रे १६ बलमा १ चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले समान २–२ रन बनाए।
कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिएका छन्।
अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने हैबेर अली र जय महेशकुमार मेहताले एक एक विकेट लिए।