लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा
धनगढीः लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी(डिसीए) भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
डिसिएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरेको हो। यसअघि डिसिएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो। देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डिसिएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो।
जवाफमा देवदहले १३.३ ओभरमा सबै विकेट गुमाएर २३ रनमात्रै बनाउँन सक्यो। देवदहका सवोत्तम सुनारले ८ रन बनाउँनुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन। डिसिएका सौर्य श्रेष्ठले ७ विकेट लिए। उनले ६.१ ओभरमा १ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएर उत्कृष्ट बलिङ गरेका थिए। यस्तै निरज ऐरले २ विकेट लिए। उनले ७ ओभरमा २ ओभर मेडन राख्दै १२ रनमात्रै खर्चिएका थिए।
त्यसअघि डिसिएका निशान रेग्मीले ११३ रनको शतकीय पारी खेलेका थिए। उनले १०१ बलमा उक्त पारी खेलेका हुन्। त्यसबाहेक अजय कडालले ६३ रन जोडे। खेलको म्यान अफ द म्याच डिसिएका निशान रेग्मी भए। यस्तै ७ विकेट लिएका सौर्य श्रेष्ठले म्याच बल पाए।
पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीले भैरहवामा प्रतियोगिता आयोजना गरेको हो।