सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आज रातिबाट झिलिमिली, पूर्वाधार विकासमन्त्री देउवाले उद्घाटन गर्दै

२०७९ फाल्गुन १०, १२:०३ अनिता चौधरी

धनगढीः धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा आज रातिबाट झिलिमिली हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पूरा भएको हो।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडक बत्ती जडानको काम पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।

‘विद्युत प्राधिकरणको लागत साझेदारीमा पहिलो चरणको बत्ती जडानको काम पूरा भइसकेको छ, आज साँझ ७ बजे सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बत्ती उद्घाटन गर्ने कार्यक्रम तय भएकाले सो कार्यक्रममा उपस्थितिका लागि नगरवासीमा अनुरोध छ’, मेयर हमालले नगरवासीलाई निमन्त्रणा गर्दै भने।

धनगढी अत्तरिया ६ लेन सडक अन्तर्गत बत्ती जडानका तीनवटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भइसकेको छ। उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब ९ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो।

सडकमा करिब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको मेयर हमालले बताए। धनगढी चौराहदेखि मोहनपुरसम्म आधुनिक सडक बत्ती जडान गर्न   दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो।

उपमहानगरभित्रको क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो। २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ।

आधुनिक र उच्च प्रविधियुक्त बत्ती भएकाले खराव हुने र नबल्ने जस्ता कुनै समस्या नहुने सूर्योदय ऊर्जा प्रालिका इन्जिनियर रविन महतोले बताए। ‘पाँच वर्षसम्म हामीले नै त्यसको जिम्मेवारी लिएका छौं, धनगढी आजदेखि झकिझकाउ हुनेछ,’ उनले भने। नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरेको हो।

दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गरिनेछ। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने मेयर हमालले जानकारी गराए।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस