सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न ‘प्रतिष्ठान’ विधेयक संशोधन हुँदै

२०७९ फाल्गुन ९, ०७:०२ कमल सावद

धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न विधेयक तर्जुमाको काम भइरहेको छ।

संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक तर्जुमाको काम सुरु गरेको हो। संघीय मन्त्रिपरिषदको निर्णयअनुसार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानूनको मस्यौदा बनाउन सुरु गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई संशोधन गर्ने काम भइरहेको छ। मन्त्रालयले मन्त्रिपरिषदको निर्णयका आधारमा कानूनको मस्यौदा निर्माणको काम थालेको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बनाएको विधेयक विश्व विद्यालयका लागि संशोधनको काम सुरु भएको बताए।

संघीय मन्त्रिरिषदले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउने निर्णय गरेसँगै कानून निर्माणको प्रक्रिया सुरु भएको छ। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य विज्ञान विश्व विद्यालयका लागि विधेयकको तर्जुमा गर्दैछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शर्माले कानून निर्माणको प्रक्रिया सुरु भएको बताए। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते अर्थात गत आइतवार गेटामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा मन्त्रालयले विधेयकको तर्जुमा गर्दैछ।

घोषणाको ८ वर्षपछि २०७४ बैशाखबाट गेटामा पूर्वाधार विकासको काम सुरु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गेटा मेडिकल कलेजका रुपमा संरचना निर्माणको काम थालेको थियो। लामो समयसम्म प्रारुपको टुङ्गो लगाउन नसकेकाले गेटामा २९ संरचनाको काम पूरा भए पनि अस्पताल सञ्चालन भएको थिएन्। तर मन्त्रिरिषदबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयका रुपमा सञ्चालन गर्ने निर्णयपछि कैलाली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चाँडै सञ्चालनमा आउने बताएका थिए।

गेटामा अहिलेसम्म २९ वटा संरचना निर्माण पूरा भएको छ। असारसम्म थप १० संरचनाको काम सकिने छ। ११ भौतिक संरचनाको काम अबको एक वर्षमा पुरा गर्ने लक्ष्य पूर्वाधार विकास समितिको छ। गेटा मेडिकल कलेजमा ६ वटा प्याकेजको काम भइरहेको छ। भवनतर्फ नर्सिङ छात्रावास, आवासीय भवन र पर्खाल निर्माणको काम आगामी असारमा सम्पन्न हुनेछ। यस्तै, पहिलो प्याकेजको फर्निचर र विद्युत सव–स्टेसनको काम पनि असारमा पूरा हुनेछ। पानी प्रणालीे जडान कार्तिकबाट सुरु गरिनेछ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस