धनगढीमा चोरीका घटना झनै बढे, फ्रिजदेखि निर्माणाधिन घरका झ्याल समेत निशानामा
धनगढी उप–महानगरपालिका वडा नम्बर ७ क्याम्पस चौकमा रहेको ओम आशा अस्पतालमा यहि महिनाको १२ गते राती चोरी भयो। अस्पताको दोस्रो तल्लामा रहेका विभिन्न विद्युतिय उपकरणहरु चोरी भए र प्रहरीलाई पनि छिट्टै खवर गरियो। चोरी गर्ने गिरोहले राती करिव १२ बजे झ्याल बाट भित्र छिरेर कोठा भित्र राखिएका एक सेट कम्युटर, एक सेट फोटोकपी मेसिन, मल्टीप्लस, सिसिटिभीको रिसिभर लगायतका अन्य सामाग्री सहित ७० हजार बरावारको समान चोरी गरेर लग्यो। तर अस्पतालले चोरीको विषयमा प्रहरीमा निवेदन दिएपनि सुनुवाई नभएको अस्पताल संचालक भूपेन्द्र चौधरीले बताए।
धनगढी उप–महानगरपालिकाकै वडा नम्बर ४ मा रहेको फेसफुड रेष्टुरेन्टमा पनि केहि दिन अगाडी चोरी भएको छ। सञ्चालक दिनेश सिंहका अनुसार करिव राति ११ बजे तिर चोरी गर्ने गिरोहले घरको पछाडी बाट पसेर घर भित्र राखिएको एक थान डि फ्रिज, दुई थान ग्यास सिलिन्डर लगायत अन्य सामाग्रीहरु चोरी गरेको थियो। पछिल्लो समयमा प्रहरीले सक्रियता बढाएको दावी गरेका वेला झनझन चोरीका घटनाहरु सार्वजनिक हुन थालेपछि प्रहरी प्रशासनको सुरक्षा रणनीतिमाथि नै प्रश्न खडा हुन थालेको छ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ कै आदर्श टोलमा नया निर्माण भईरहेको घरमा समेत चोरी भएको छ। यहि महिनाको ११ गते निर्माणधिन घरमा झ्याल राखिएको थियो भने सोही दिनको राती पछाडी पट्टी २ झ्यालहरु चोरी भएका हुन्। चिनाईमा च्यापिएको झ्यालहरु दिवाल भत्काएर चोरीएको छ। एउटा झ्याललाई ३० देखी ४० हजार सम्म पर्ने भएकाले करिव ६० हजार भन्दा बढी नोक्सानी घर मालिक लवदेव भट्टले बताए।
धनगढीमा भईरहेका चोरीका घटनाहरु नियन्त्रण गर्न नसकेको स्वीकार जिल्ला प्रहरी कार्यालयले पनि गरेको छ। धनगढीमा मात्र जिल्ला प्रहरी कार्यालय संगै वडा प्रहरी कार्यालय र विभिन्न स्थानमा अस्थाई प्रहरी पोष्ट रहेका छन भने २४ घण्टा प्रहरीले गस्ती समेत गर्ने गरेको जनाएको छ।
तर प्रहरीले अहिले मादक पदार्थ सेवनकर्तालाई निगरानीमा राख्ने र कारवाहीको दायरामा ल्याउने गरेको छ। प्रहरीले केही सीमित कुराहरुलाई मात्र केन्द्रीत गरी ठुलै सफलता पाएको भन्दै लोकप्रियता कमाउने प्रयास गरेको आरोप पनि लाग्दै गएको छ। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले चोरीका घटनाहरु नियन्त्रण गर्नमा प्रहरी लागि रहेको बताए।
संख्यात्मक हिसावले धनगढीमा पछिल्लो केहि समययता चोरीका घटनाहरु ह्वात्तै बढेका छन्। नगर क्षेत्रको सुरक्षाको जिम्मा पाएको वडा प्रहरी कार्यालयको भुमिका देखिन छोडेको लामो समय भएको छ। अधिकास चोरीका घटनामा लागु पदार्थ दुव्र्यसनीहरुको संग्लनता रहने गरेको तथ्य प्रहरी आफैले भन्दै आएको छ तर नियन्त्रणमा भने प्रहरीको भुमिका देखिएको छैन्।