सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा, सेवाग्राही हैरान

२०७५ चैत्र १६, १२:४९ खबर संवाददाता

बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी अवलोकन भ्रमणमा गएपछि सेवाग्राही मर्कामा परेका छन्। आर्थिक वर्ष सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला चैत १२ गतदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अवलोकन भ्रमणका लागि पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्।

गाँउपालिकाका जनप्रतिनीधि र कर्मचारीको जम्बो टोली भ्रमणमा गएपछि विकास निर्माण देखि गाउँपालिकाका अन्य प्रशासनिक काम समेत प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्। गाउँपालिकाका अध्यक्ष करणसिह साउँद, उपाध्यक्ष कुस्मा चन्द, ६ वटै वडाका अध्यक्ष, गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकिय अधिकृत कमल सिंह महरा सहितका ४८ जना १० दिनका लागि भन्दै अवलोकन भ्रमणमा गएपछि आफूहरु मर्कामा परेको स्थानीयले बताएका छन्।

कार्यालय नै खाली हुने गरी जनप्रतिनिधी र कर्मचारी अवलोकन भ्रमणमा गएपछि घण्टौँको पैदल यात्रा गर्दै सेवा लिन गाउँपालिका पुगेर फर्कनुपरिरहेको गुनासो सेवाग्राहीको छ। जनप्रतिनिधी र कर्मचारी जम्बो टोली बनाएर बजेट सक्न भ्रमणमा गएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल सिह महराले दिनेश खबरसँग कुरा गर्दै अन्य स्थानीय तहका गतिविधी अवलोकनका लागि भ्रमणमा गएको बताए।

निमित्त कार्यालय प्रमुखको जिम्मेवारी गाउँपालिकाका इन्जिनीयर हर्षराज भट्टलाई दिएकाले सेवा प्रवाहमा जटिलता नआएको तर्क उनको छ। महराले ठुला विकास निर्माणका योजना सम्पन्न गरेर भुक्तानी समेत दिईसकेकाले कामको धेरै चाप पनि नरहेको दावी गरे। गाँउपालिका अध्यक्ष कर्ण सिह साउदले सेवाग्राहीलाई मर्का परेको कुरा आाफूलाई जानकारीमा नरहेको बताए। तर निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका इन्जिनीयर भट्टले भने अवलोकन भ्रमणले सेवा प्रवाहमा जटिलता भएको कुरा साँचो भएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस