धनगढीमा प्याब्सन क्रिकेट प्रतियोगिता हुने
धनगढीः धनगढीमा प्याब्सन क्रिकेट प्रतियोगिता हुने भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)धनगढीले क्रिकेट प्रतियोगिता गर्ने भएको हो। प्याब्सनको धनगढी नगर कमिटीले छैठौ प्याब्सन धनगढी फेस्टिबल तथा चौथो प्याब्सन धनगढी क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको हो।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले प्याब्सन फेस्टिबल र क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिएको छ। फेस्टिबल र क्रिकेटमा गरि धनगढीका ३० संस्थागत र २ सामुदाियक गरि ३२ विद्यालयको सहभागिता रहने प्याब्सन धनगढीका उपाध्यक्ष ध्रुव सिंहले बताए।
धनगढीमा खेलकुद तथा क्रिकेटको चहलपहल बढाउन, युवाहरुलाई खेलप्रति उत्प्रेरित गर्न, सुदुरपश्चिमलाई खेलका माध्यमबाट देशभरि चिनाउन फेस्टिबल आयोजना गर्न लागिएको प्याब्सन धनगढीका अध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए।
फेस्टिबलका इन्डोर खेलहरु रंगशालामा फागुन ६ र ७ गते हुनेछन्। आउटडोर प्रतियोगिताहरु विभिन्न विद्यालयमा संचालन हुनेछन्। क्रिकेटका खेलहरु फाप्ला क्रिकेट मैदानमा फागुन ९ देखि संचालन हुने बताइएको छ।
क्रिकेट प्रतियोगिताको बिजेतालाई एक लाख एक हजार एक सय ११ र दितीयलाई ५१ हजार एक सय ११ नगद पुरस्कार रहेको छ। उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलरले पाँच हजार, उदयमान खेलाडीले पाँच हजार, म्यान अफ द म्याच एक हजार प्रदान गरिने सचिव पन्तले बताए। कार्यक्रमको संचालन दिनेश खत्रीले गरेका थिए।