सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको आईसीसी विश्वकप क्रिकेट लिग २ एकदिवसीय शृंखलामामा दोस्रो जित

२०७९ फाल्गुन ५, ०५:४७ खबर संवाददाता

काठमाडौंः नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले दोस्रो जित निकालेको छ।

दीपेन्द्रसिंह ऐरीको अविजित ८५ रनप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा दुई सय ७४ रनको योगफल तयार गरेको थियो।दोस्रो इनिङमा नेपालले ४७ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि सातौं नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले एक सय १६ बलको सामना गर्दै आठ चौका र एक छक्कासहित अविजित अर्धशतकीय इनिङ खेले।

त्यसअघि कुशल मल्लले अर्धशतकीय इनिङ खेलेका थिए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका कुशलले ४२ बलमा ६ चौका र तीन छक्कासहित ५० रन पूरा गरेका थिए। आक्रामक ब्याटिङ गरेका कुशलल २८औं ओभरमा आउट हुनुअघि ९ चौका र चार छक्कासहित ८१ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए।नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६, सन्दीप जोरा पाँच र गुल्शन झा १७ रन जोडेर आउट भए।

सोमपाल कामी २४ रनमा अविजित रहे। सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। शृंखलामा नेपालको यो दोस्रो जित हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो।

यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। नेपालले शृंखलाको दोस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ। यस्तै, शृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड नै मंगलबार भिड्ने छन्।
 

कमेन्ट लोड गर्नुस