सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बालविकास शिक्षकलाई तालिम दिँदै रीड नेपाल 

२०७९ फाल्गुन ५, ०७:४७ खबर संवाददाता

धनगढी: रीड नेपालको आयोजना तथा  बझाङको खप्तडछान्ना गाउँपालिकाको समन्वयमा १० दिने प्रारम्भिक बालविकास शिक्षक तालिम ईश्वर आधारभूत विद्यालय घाटखोलामा समापन भएको छ। रीड नेपालका फिल्ड प्रबन्धक देबराज खत्रीको अध्यक्षता तथा पूर्व गाउँपालिका तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बर्कबहादुर रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो।

 कार्यक्रममा बोल्दै रोकायाले प्रारम्भिक बालविकास सिकाइको जग भएकोले सिकेका सिपलाई अनिवार्य कक्षाकोठामा लागू गर्नुपर्ने र प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको लागि रीड नेपाल र गाउँपालिकालाई अनुरोध गरे।

कार्यक्रमका विशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद सोतीले तालिममा सिकेका सिपलाई कक्षा कोठामा लागू गर्नुका साथै बालकक्षाको पठनपाठन समय अवधीभर सहजकर्ताले कक्षा सञ्चालन गर्न अनुरोध गरे। उनले सोही अनुसार विद्यालयमा पत्रचार भइसकेको जानकारी दिए।

कार्यक्रमका अतिथि वडा नम्बर ४ का अध्यक्ष  ईश्वर बहादुर  रोकायाले  सबै सहभागीले तालिमले बालविकासको सिकाइमा परिवर्तन आउने विश्वास राख्दै सबै विद्यालयमा बालविकास सहजकर्ताको ब्यबस्थापनको लागि पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा बोल्दै विद्यालयका प्रअ ललित कठायतले सिकेका सिपलाई कक्षाकोठामा पुर्याउन सबैलाई अनुरोध गरे।

तालिम समापनमा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले  सिकेका सीपहरु बालबालिकासम्म पुगेर कक्षाकोठामा त्यसको प्रभाव परेपछि मात्र तालिम सफल भएको मानिने बताए। उनले तालिमको प्रभावकारिताको लागि रीड तथा गाउँपालिकाबाट संयुक्त अनुगमन गरिने बताए।

तालिम समापनमा बोल्दै रीड नेपालका फिल्ड प्रवन्धक देवराज खत्रीले प्रारम्भिक बालविकास कक्षा अति नै महत्त्वपूर्ण रहेकोले १० दिनमा सिकेका सीपहरु बालबालिकामा पुर्याउन आग्रह गरे। तालिम कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै धनबहादुर बिक र दिब्यश्वरी थापाले तालिम धेरै प्रभावकारी भएको र राज्यले तालिम नदिरहेको बेला रीड नेपालले तालिम संचालन गरेकोमा खुसी व्यक्त गरेका छन्।

साथै उनीहरूले विद्यालयमा शैक्षिक सामग्री अपुग रहेकोले आवश्यक सामग्री सहयोग गरिदिन रीड नेपाल र पालिकालाई अनुरोध गरेका छन्। तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्त्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगातका विषयवस्तुमा तालिम संचालन गरिएको रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले बताए। तालिममा गाउँपालिकाका ३७ विद्यालयका ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिमको सहजीकरण डा. मीनाक्षी दाहाल र मीना ढुङ्गानाले गरेका थिए।

कमेन्ट लोड गर्नुस