लोटस आइ र सत्यवती धनगढीमा जारी एलपीएलको फाइनलमा
धनगढी : कैलालीको अत्तरियाको लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेका छन्। लोटस आइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन्।
बिहीवारको पहिले सेमिफाइनल खेलमा लिटल फ्लावरलाइ ७२ रनले पराजित गर्दै लोटस आइ उपाधि नजिक पुगेको हो। धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो। १६० रनको चुनौतीपूर्ण लक्ष पछ्याएको लिटल फेलावरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। उसका सुवास ऐरले २६ र वसन्त कार्कीले २३ रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङ तर्फ लोटसका आयुब चन्द , सुशील रावल र नरेन साउँदले समान ३/३ विकेट लिए।
लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए। बलिङ तर्फ लिटलका आशिष साहूले ३ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका आयुब चन्द चुनिए।
दोस्रो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई ५ विकेटले पराजित ग¥यो। टस जितेर ब्याटिङ थालेको बालबाटिका १८ दशमलव ४ ओभरमा अलआट हुँदै १११ रन बनायो। एक सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८ दशमलव १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ रन बनाएर आउट हुँदा खगेन्द्र जोशीले १७ रन बनाए। बलिङ तर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले २/२ विकेट लिए। बालबाटिकाका लागि विराट भण्डारीले ३३ र नर बहादुर सार्कीले ३२ रन बनाए। बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र जीत साउँदले समान २/२ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच प्रतीक श्रेष्ठ चुनिए।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाई छ।