बझाङको बुङ्गल नगरपालिकाको कार्यालयमा ताला
धनगढीः बझाङको बुङ्गल नगरपालिकाको कार्यालयमा ताला लगाइएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै तालाबन्दी गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत नभएकाले एक महिनादेख नगरपालिकाको सेवा प्रभावित भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले ताला लगाएको छ।
शिक्षा अधिकृत देवराज जोशीले प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए। जोशीले राजीनामा दिएपछि नगरपालिकामा दैनिक प्रशासन सञ्चालनमा समस्या भएको हो । जोशीले गत कात्तिकमा नै राजीनामा दिएका थिए। नगर कार्यपालिकाले रिक्त रहेको उक्त पदमा प्रशासन शाखामा कार्यरत ध्रुवराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत नभएकाले नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको नगरप्रमुख जयबहादुर धामीले बताए। प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका योजनालगायतको रकम भुक्तानीका लागि समस्या हुने गरेको उनले बताए। नगरपालिकाले गर्ने निर्णय तथा बोलपत्रका प्रक्रियासहित दैनिक काममा समस्या हुने गरेको उनले बताए। नगर कार्यपालिकाले निर्णय गरेका ध्रुवराज जोशीलाई संघीय मन्त्रालयले सहमति दिएको छैन। नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्रसमे बनाएको आरोप छ।