स्वास्थ्य मन्त्रालयले पाँच वर्षे स्वास्थ्य बीमा कार्ययोजना ल्याउँदै
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउन तयार गरेको छ। मन्त्रालयले २०८० देखि २०८५ सालसम्मका लागि आवधिक कार्ययोजना ल्याउने तयारी गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै थप प्रभावकारी बनाउन पाँच वर्षे कार्ययोजना ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको बताए। मन्त्री गिरीले मन्त्रालयले प्राथमिकता दिएका विषयहरुको कार्ययोजना बनाउनेक्रममा बीमाको आवधिक कार्ययोजनाको विषय समेत समावेश गरेका छन्।
मन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा बीमा बोर्डले २०८० को वैशाखसम्म पाँच वर्षे कार्ययोजनाको मस्यौदा तयार गर्ने जनाएको छ। आगामी जेठभित्र मन्त्रिपरिषदबाट सो कार्ययोजना पास गरी अगाडि बढ्ने मन्त्रीको भनाइ छ। नेपालमा हालसम्म ६० लाखले स्वास्थ्य बीमा गरेको मन्त्रालयले जनाएको छ।