बैतडीको पुरचौडींमा लफडा, हाकिम भागेर धनगढी
धनगढीः बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली भागेर सदरमुकाम हुँदै धनगढी पुगेका छन्। पुरचौडीका स्थानीयबाट असुरक्षा भएको भन्दै उनी जिल्ला सदरमुकाम हुँदै बुधवार धनगढी पुगेका हुन्।
सोमवार रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा मनोमानी गरेको भन्दै परीक्षार्थीले घेरेपछि सुरक्षाको माग गर्दै प्रशासकीय प्रमुख नेपाली भागेर जिल्ला सदरमुकाम हुँदै धनगढी पुगेका हुन्।
स्थानीयबाट सुरक्षाको खतरा महसुस गरेपछि सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेको नेपालीले दिनेशखबरलाई बताए। उनले करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको बताए। तर हाकिमले मिलेमतोमा नतिजा प्रकाशित गरेर आफू फरार भएको एक जना परीक्षार्थीले बताए। ‘हाकिम’ले मनोमानी गरेर नतिजा निकालेका छन्। हामीले निष्पक्ष किन भएन भनेर सोध्न खोजेको तर हाकिम साब एकाएक गायब हुनु भएको छ,’ ती परीक्षार्थीले बताए।
प्रमुख प्रशासकीय अधिकृत नेपालीले कार्यविधि विपरीत परीक्षा गरेको नगर उपप्रमुख मिना धानुकले बताए। ‘हाकिम साबले कुनै सल्लाह नगरेरै परीक्षा गराउनुभयो,’ उनले भनिन्, ‘परीक्षा गर्दा परीक्षा समितिका अन्य सदस्यको सहभागिता पनि गरिएको छैन। उहाँ एकाएक कहाँ गए भन्ने हामीलाई थाहा छैन।’
तर, परीक्षामा कुनै कैफियत नभएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए। परीक्षा निष्पक्ष बनाउन सबै उपाय अपनाएको उनको दाबी छ। नतिजा सार्वजनिक नगर्दै स्थानीय घेराउ गर्न आएपछि प्रहरीको सहयोगमा सदरमुका पुगेको र प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गरेर धनगढी पुगेको नेपालीले दिनेशखबरलाई बताएका छन्।