सुदूरपश्चिममा पुनरकर्जा प्रवाह ५ अर्व ३३ करोड, कसरी पाइन्छ यस्तो कर्जा?
वीरेन्द्र भट्ट, धनगढीः सुदूपश्चिम प्रदेशभित्र पुनरकर्जा प्रवाह ५ अर्व ३३ करोड पुगेको छ। प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा प्रवाह गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो। अर्थात आर्थिक क्रियाकलाप बिस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था पुनर्कर्जा हो। सीमित अवधिको लागि ग्राहक तथा ऋणीबाट असुलउपर गर्नुपर्ने ब्याजदर समेत तोकी विद्यमान ऋणीहरुलाई यस्तो कर्जा प्रदान गरिन्छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्टरूपमा सस्तो ब्याजदरमा राष्ट्र बैंकले प्रदान गरेको कर्जालाई पुनरकर्जाको रुपमा बुझिन्छ। जुन कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीलाई वितरण गर्छन्।
कुन जिल्लामा कति?
२०७९ असार मसान्तसम्म पुनरकर्जा सबैभन्दा बढी कैलालीमा ती अर्व ४६ करोड र सबैभन्दा कम बाजुरा, बझाङ र बैतडीमा समान ४÷४ करोड प्रवाह भएको देखिएको छ। यस्तो कर्जा कञ्चनपुरमा एक अर्व ३१ करोड, अछाम र डोटीमा समान ७÷७ करोड पुनरकर्जा प्रवाह भएको छ। त्यस्तै कर्जा डडेल्धुरामा २२ तथा दार्चुलामा ९ करोड प्रवाह भएको देखिएको छ।
कस्ता ग्राहकहरुले पुनरकर्जा सुविधा पाउदैनन्?
चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरु, ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्वीटी २० प्रतिशत वा त्योभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जा, कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जा, तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउनेजस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन्।
ग्राहक–ऋणीहरुले पुनरकर्जा कसरी पाउँछन्?
ग्राहकऋणीहरुले कर्जा उपभोग गरिरहेको बैंक तथा वित्तीय संस्थाको नजिकको शाखामा हालसम्म अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको स्वःघोषणासहित पुनरकर्जाका लागि निवेदन दिनुपर्छ। सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू ७० प्रतिशत हुने गरि निवेदनको आवश्यक विश्लेषण गरि बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग पुनरकर्जा माग गर्छन्।
पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र, कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण, कायम ब्याजदर देखिने सिस्टम जेनेरेटेड कस्टमर लायविलिटी रिपोर्ट, निर्यात पुनरकर्जाको हकमा निर्यात सम्बन्धी कागजात, विगत वर्षमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात, निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात, ग्राहक ऋणीले अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा जरूरी पर्छ।
यसरी निवेदन परेपछि परेका निवेदन विश्लेषण गरि निवेदक पुनरकर्जा पाउन सक्ने या नसक्ने निर्णयबारेको अन्तिम अधिकार नेपाल राष्ट्र बैंकले गर्नेछ। पुनरकर्जा सुविधा प्राप्त गर्ने ग्राहकहरुलाई शाखामा रहेको निजको ऋणमध्ये पुनरकर्जा सुविधा प्राप्त गरेको रकम बराबरको नयाँ पुनरकर्जा खाता खोली उक्त खाताको ब्याजदर ५ प्रतिशत वा पुनरकर्जा वर्गीकरण अनुसार लागू हुनेछ।
एक वर्षसम्म पुनरकर्जा ५ प्रतिशतमा ग्राहकहरुले चलाउन पाउने ब्यवस्था हुन्छ र अवधि समाप्तपछि उक्त कर्जा खाता बन्द हुन्छ भने पुरानै खाता पूर्ण संचालनमा आउँछ र बैंकको नियमअनुसारको ब्याजदर लागु हुने गर्दछ। उद्यमी स्वयम् संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिन्छ। कुनै क्षेत्र विशेषलाई प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिन्छ भने दुवै समूहमा नपरेका बैंकले समय समयमा तोकेका सबै कर्जालाई साधारण पुनरकर्जा मानिन्छ।