सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिका सांसद अएनन् धनगढी, मुख्यमन्त्री रावलले आज विश्वासको मत नपाए मुख्यमन्त्री कांग्रेसको पोल्टामा

२०७९ माघ २६, १२:४५ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीले एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने बताएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने अन्तिम समय भए पनि नागरिक उन्मुक्तिका कुनै पनि प्रदेश सभा सदस्य धनगढी आइपुगेका छैनन्। नागरिक उन्मुक्तिका एक नेताले दिनेशखबरसँग भने, ‘हामीहरु धनगढी छैनौ, एमालेलाई मत दिदैनौ, दुःख दिने हो।’ मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने अवस्था आएपछि बैठक पनि अनिश्चित जस्तै बन्न पुगेको छ। नेपाली कँग्रेसले भने प्रदेश सभाको बैठक स्थगित हुँदै आएकोप्रति विरोध जनाउँदै आएको छ।

आज दिउँसो एक बजेसम्म कुनै नाटकीय घटनाक्रम विकास भएन भने मुख्यमन्त्री रावल नेतृत्वको सरकार बच्ने सम्भावना कमजोर बनेको छ। २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग आज प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। 

आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा छ। नागरिक उन्मुक्तिले विश्वासको मत दिने निश्चित नभएपछि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो। 

मुख्यमन्त्रीको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले बुधबार दिउँसो १ बजे बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित गरेका थिए।। आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन्। वा, त्यसअगाडि राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नेछन्। विश्वासको मत नपाए पनि रावल स्वतः पदमुक्त हुनेछन्।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै बुधबार बैठक आह्वान गरिएको थियो। तर, औपचारिक कार्यसूची थिएन। दिउँसो १ बजे तोकिएको बैठक १२ बजे संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश स्थगित भएको जनाएको थियो। यसअघि बुधबार ११ बजे बोलाइएको बैठक दलहरूको परामर्शमा सभामुखले १ बजे सारेका थिए। 

निर्णायक नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य बैठकमै उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित थियो। मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि बैठक सारिएको हो। डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न काठमाडौं पुगेका नागरिक उन्मुक्तिका सातैजना प्रदेश सभा सदस्य आज पनि धनगढी फर्किएका छैनन्। 

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाका एक गरी सत्ता पक्षमा २१ सदस्य छन्। अहिलेकै समीकरणअनुसार सात सदस्य रहेको नागरिक उन्मुक्तिले मत नदिए सरकार अल्पमतमा पर्नेछ। कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र प्रतिपक्षमा छन्।

कमेन्ट लोड गर्नुस