सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२०७९ माघ २६, ०८:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँ छन्। सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन्। यसअघि विश्वासको मत लिन बुधवार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि बुधवार ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको थियो। प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थियो। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन।

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन्।
 

कमेन्ट लोड गर्नुस