सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

२०७९ माघ २५, ०४:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ।

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य बलायरले बुधवार काँग्रेसका प्रदेश सभा सदस्यहरु, नेकपा (एकीकृत समाजवादी) दलका नेता दीर्घबहादुर सोडारी, माओवादीका दलका नेता खगराज भट्टलगाएतसँग भेटघाट तथा छलफल गरेका छन्। काँग्रेस प्रदेश सभापतिसमेत रहेका बलायर एमालेलाई एक्ल्याउने प्रयासमा देखिएका हुन्।

उनले बुधवार सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पत्रकारसँग काँग्रेस नेतृत्वमा सुदूरपश्चिम सरकार गठन हुनेसमेत बताएका छन्। एमालेबाहेक सबैसँग सरकार गठन र सञ्चालनको विषयमा छलफल थालेको उनले बताए। उनले भने, ‘सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्छ। माओवादीसमेत सरकारमा सहभागि हुन्छ।’ सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने दाबी बलायरको छ। उनले नागरिक उन्मुक्तिका संरक्षण रेशम चौधरीसँगसमेत सुदूरपश्चिमको सरकार गठन तथा सञ्चालनको विषयमा छलफल भएको खुलाएका छन्। उनले भने, ‘उहाँसँग (रेशम चौधरी)सँग कुरा भएको छ। उहाँहरु लगत्तै नयाँ निर्णय लिनुहुन्छ।’ मुख्यमन्त्री रावलले बुधवार दिउसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची थियो।

तर विश्वासको मत पाउने वातावरण नभएपछि बिहीवार १ बजेसम्मका लागि बैठक सारिएको छ। यता माओवादीका नेता खगराज भट्टले भने मुख्यमन्त्री रावलले विश्वासको मत पाउने बताएका छन्। शतप्रतिशत विश्वस्त छु। भोलिसम्म उहाँहरु सरकारको पक्षमा मत हाल्नुहुछ।’ सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ तथा एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा सरकार गठन भएको हो।

प्रदेशमा काँग्रेसका १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु बिपक्षमा छन्। प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए, काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ।

कमेन्ट लोड गर्नुस