चौमाला–खैराला सडकको बेहाल उस्तै, मर्मतको नाममा सकियो लाखौ रकम
धनगढीः पूर्व मन्त्री तथा तत्कालिन संविधान सभा सदस्य लेखराज भट्टले २०६४ चैत्र २८ गते चौमाला–खैराला सडकको शिलान्यास गरे। यातायात मन्त्री हुँदा नेता भट्टले चौमाला–खैराला सडकको शिलान्यास गरेका हुन्।
कैलालीको चौमाला–खैराला हुँदै निगाली जोड्ने सो सडक निर्माण सुरु भएको १५ वर्ष भइसकेको छ। प्रत्येक वर्ष कम्तीमा १० लाख मर्मतको नाममा खर्च हुँदै आएको छ। चुरे गाउँपालिका–४ का पूर्व अध्यक्ष कृष्ण मल्लका अनुसार पाँच वर्षसम्म वडा कार्यालयले १० लाखका दरले मर्मत शिर्षकमा मात्र ५० लाख बढी रकम खर्च गरिसकेको छ। चुरे क्षेत्रमा रहेको चौमाला–खैराला सडक मर्मतका लागि मात्र १० देखि २० लाखसम्म वर्षेनि खर्च हुँदै आएको छ।
सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा मर्मतमा ठुलो रकम खर्च हुँदै आएको मल्लले बताए। गाउँपालिकाको मात्र पाँच वर्षमा ५० लाख बढी रकम मर्मत शिर्षकमा खर्च भइसकेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले थप २० लाख सडक मर्मतमा खर्च गरेको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। उनले भने, ‘हामीले सडक मर्मत गरेका छौ। अहिले जिप सञ्चालनमा छन्।’
चौमालादेखि खैरालासम्मको १८ किलोमिटर सडकको ट्याक खोल्न १० वर्ष समय लागेको छ। तत्कालीन खैराला गाविसको ९ लाख, जिल्ला विकास समितिको ३ लाख र लेखराज भट्टको सासंद विकास कोषको २ लाख गरी १४ लाख २०६४ सालमा खर्च भएको थियो। पहिलो बर्षमा २ किलोमिटर मात्र सडकको ट्याक खोलिएको थियो। गाउँपालिकाले ४० लाख सडक स्तर वृद्धि र ३० लाख चटान फोड्न बजेट विनियोजन गरिएको अध्यक्ष बोगटीले बताए। प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गरेको बताइएको छ।
झण्डै एक दर्जन उपभोक्ता समिति
सडक निर्माणलाई पुर्णता दिनेभन्दै अहिलेसम्म झण्डै एक दर्जनभन्दा बढी उपभोक्ता समिति गठन गरिसकिएको छ। आर्थिक बर्ष २०६६÷६७ मा डम्बर सारुमगरको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर १८ लाख खर्च गरिएको छ। तत्कालीन जिल्ला विकास समितिको ६ लाख र खैराला गाविसको १२ लाख खर्च भएको थियो।
१८ लाखमा तीन किलोमिटर मात्र सडकको ट्याक खोलिएको थियो। आर्थिक बर्ष २०६७÷६८ मा माओवादी नेता शेरबहादुर सार्की (निर्दाेश) उपभोक्ता समितिका अध्यक्ष हुँदा २५ लाख खर्चेर ८ किलोमिटर सडकको ट्याक खोलिएको दाबी छ। गाविसको १० लाख र १५ लाख जिल्ला विकास समितिको खर्च भइसकेको छ।
आर्थिक वर्ष २०६८÷६९ मा नेपाली कांग्रेसका कृष्णबहादुर मल्ल उपभोक्ता समितिको अध्यक्ष भए। मल्लले १६ लाखको काम गरेको दाबी गरे। ३ लाख ५० हजार गाविस र ७ लाख जिविसले विनियोज गरेको थियो। आर्थिक बर्ष २०६९÷७० मा पनि उपभोक्ता समितिको अध्यक्षमा मल्ल नै चयन भए। उनले २५ लाखमा १० किलोमिटर सडकको ट्याक खोलिएको दावी गरे।
त्यस्तै आर्थिक बर्ष २०७०÷७१ मा टोपबहादुर सिजाली उपभोक्ता समितिको अध्यक्ष भए। तत्कालीन वन राज्य मन्त्री दिर्घराज भाटको सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५ लाख, जिविसबाट २० लाख र गाविसबाट ५ लाख बजेट विनियोजन भएको थियो। आर्थिक बर्ष २०७१÷७२ मा प्रेम गुरुङ उपभोक्ता समितिको अध्यक्ष चयन भए। उनले पनि ३९ लाख ५० हजार खर्च गरे।
सडक डिभिजन कार्यालयको ६५ लाखको सडक निर्माणको ठेक्का भयो। ६५ लाखमा निर्माण कम्पनीले ५ सय मिटर मात्र चट्टान फुटाएको थियो। पुनः गुरुङ नै २०७२÷७३ मा उपभोक्ता समितिको अध्यक्ष चयन भए। २०७३÷७४ मा भने सडक निर्माणको काम भएन्। आर्थिक बर्ष २०७४÷७५ मा गौरीलाल दियाकोटी र चन्द्रबहादुर लामिछाने उपभोक्ता समितिको अध्यक्षमा चयन भए। चुरे गाँउपालिकाको ३० लाखको उपभोक्ता समितिको अध्यक्षमा लामिछाने र २० लाख वडा कार्यालयको रकमको उपभोक्ता समितिको अध्यक्षमा दियाकोटी भए। यसरी सडक मर्मत र सुधारको नाममा लाखौ रकम खर्च भइसक्दा पनि सो सडक १२ महिना चल्ने गरी सञ्चालनमा छैन्।