भूकम्पमा परी १०० बढीको मृत्यु
एजेन्सिः शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ।
स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।
टर्कीको सरकारी सञ्चारमाध्यमले एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने ४ सय ४० जना भन्दा बढी घाइते भएका छन्। भूकम्पले सिरियामा पनि ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। सिरियामा भूकम्पमा परी हालसम्म ४२ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। टर्कीका गृहमन्त्री सुलेमन सोयलुले भूकम्पबाट देशका दशवटा सहर प्रभावित भएको जानकारी दिएका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा बचाउ कार्य सुरु भइसकेको जानकारी दिएका छन्।