सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली ट्राफिक एक्सनमा, लेन अनुशासन पालन नगर्ने चालकलाई सचेतना कक्षा

२०७९ माघ १७, १०:०६ नारायण अवस्थी

धनगढीः ट्राफिक प्रहरी लेन अनुशासन कायम राख्न एक्सनमा उत्रिएको छ। जाथाभावी सडक काट्ने, लेन अनुशासन पालन नगर्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई जरिबानासँगै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम लागु गरिएको छ। गत सोमवारदेखि जिल्ला ट्राफिक प्रहरीले लेन अनुशासन पालन नगर्ने र मापसे गरेर सवारी हाक्ने २५ जनालाई ट्राफिक सचेतना कक्षा दिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य ट्राफिक युनिटले ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति रोक्न हरेक हप्ता शुक्रवार एक घण्टाको ट्राफिक सचेतना कक्षा चलाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए।

‘हामीले ट्राफिक प्रहरीले गर्नुपर्ने नियमित काम अन्तर्गत ट्राफिक व्यवस्थापनमा काम गरिरहेको अवस्था हो,’ उनले भने, ’गत सोमवारदेखि मापसे गरेर सवारी चलाउने र लेन अनुशासन पालन नगर्ने सवारी चालकहरूलाई एक घण्टाको ट्राफिक सचेतना कक्षा दिन सुरू गरेका छौँ।’ धनगढीमा सबैभन्दा बढी ६ लेन सडकमा ट्राफिक नियमको उल्लंघन हुने गरेको ट्राफिक प्रहरीले बताएको छ।

चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियमबारे जानकारी गराउन, सडक सभ्यता अभिबृद्धि गराउन र सडकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको कैलाली ट्राफिक प्रहरी प्रमुख जोहारीले बताए।

‘ट्राफिक प्रहरीको मुख्य काम भनेको सडक प्रयोग गर्न सुरक्षित बनाउनु हो,’ उनले भने, ‘सडक दुर्घटनाबाट कसैको ज्यान जाने र अन्य क्षति नहोस् भनेर हामीले ट्राफिक नियम नमान्नेलाई सम्झाइ बुझाइ गर्न कक्षा चलाउन थालेका हौँ, अबदेखि हरेक शुक्रवार विहान ८ देखि ९ सम्म ट्राफिक नियम तोडेर सवारी हाक्नेहरूलाई नियमित कक्षा दिने, जरिबाना गर्ने र अभिलेख समेत राख्ने काम गर्छौँ।’

लेन अनुशासन पालन नगर्दा सवारी आवागमनमा बाधा पुग्ने, दुर्घटनाको जोखिम बढ्ने, सडक अस्तव्यस्त हुने, अन्य आवश्यक सवारी साधनहरूलाई पनि जाममा बस्नुपर्ने अवस्था आउने भएकाले लेन अनुशासनको पालन गर्नु हरेक नागरिकको कर्तव्य भएको ट्राफिक प्रहरीले बताएको छ।

सवारी आवागमन सहज हुने, दुर्घटना न्यूनीकरण हुने, सडक अनुशासन कायम रहने, गति अनुरुपको लेन प्रयोग गर्दा ओभरटेक गर्न सजिलो हुने भएकाले सबैले सडक प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने ट्राफिक प्रहरीले बताएको छ।

कैलाली जिल्लामा हुने नियमित ट्राफिक जाँचमा लेन अनुशासन उल्लघंन गरेको र मादक पदार्थ सेवन गरेर सवारी चलाएको फेला परे ट्राफिक प्रहरी शून्य सहनशील भएर ट्राफिक नियमअनुसार कारबाही गर्ने कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोहारीले बताए। ट्राफिक प्रहरीले सबैलाई जिम्मे्वार भएर सडक अनुशासन पालन गर्न र दुर्घटनाको जोखिमबाट बच्न र बचाउन अनुरोध गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस