सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको जलविद्युतमा निजी क्षेत्रको अहिलेसम्मकै ठुलो लगानी

तीन ठुला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

२०७९ माघ १५, ११:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमा निर्माणाधिन तीन ठुला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रको लगानीमा पहाडी जिल्ला बझाङमा निर्माणाधिन आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो।

बझाङको बुंगल नगरपालिकाभित्र कांलगा नदीमा निजी क्षेत्रको लगानीमा तीन आयोजनाको निर्माण भइरहेको छ। ६५ मेगावाट विद्युत उत्पादन क्षमताका तीन आयोजनाको निर्माण सन २०१७ बाट सुरु भएको थियो। ३८ दशमलव ४६ मेगावाट विद्यूत उत्पादन क्षमताको माथिल्लो कांलगा जलविद्युत आयोजनाको निर्माण सान्नीगाड हाइड्रो पावर लिमिटेड, १५ दशमलव ३३ मेगावाट विद्युत उत्पादन क्षमताको कांलगागाड जलविद्यूत आयोजनाको निर्माण कांलगा हाइड्रो पावर लिमिटेड र १० दशमलव ७० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो सान्नीगाड जलविद्युत आयोजनाको निर्माण बुंगल हाइड्रो पावर लिमिटेडले गर्दै आएको छ।

सन २०२० भित्र निर्माण सम्पन्न गर्ने गरी आयोजना निर्माणको काम सुरु गरिएपनि कोरोना महामारी लगायत कारण ती आयोजनाको निर्माण निर्धारित मितिमा पुरा हुन सकेको थिएन्। कुल १० अर्व ५० करोड लागत अनुमान गरिएको सो आयोजना निजी क्षेत्रले लगानी गरेको सबैभन्दा ठुलो आयोजना हो। आयोजना निर्माणमा ७५ प्रतिशत बैंक, १० प्रतिशत स्थानीय र १५ प्रतिशत प्रतिष्ठित व्यापारीको लगानी रहेको छ।

१५ दशमलव ३३ मेगावाट विद्युत उत्पादन क्षमताको कांलगागाड जलविद्युत आयोजनाको निर्माण पुरा भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ। ३८ दशमलव ४६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो कांगलगागाड जलविद्यूत आयोजना ९९ प्रतिशत निर्माण पुरा भइसकेको छ। त्यस्तै १० दशमलव ७० मेगावाट विद्युत उत्पादन क्षमताको सान्निगाड जलविद्यूत आयोजनाको ८५ प्रतिशत निर्माण पुरा भइसकेको छ।

ती आयोजना निर्माण सुरु भएयता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्यालय भवन, सिँचाई कुलो निर्माण लगायत पूर्वाधार निर्माण गरेर आयोजनाले आफ्नो सामाजिक उत्तरदायित्व समेत निर्वाह गरेको देखिएको छ। साथै आयोजना निर्माणबाट रोजगारी समेत सिर्जना भएको छ। बाँकी दुईवटा आयोजनाको निर्माण सम्पन्न भएर ती आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिए विद्युत उत्पादन बढ्ने अपेक्षा समेत गरिएको छ।
 

कमेन्ट लोड गर्नुस