सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भूकम्पले गरेको क्षतिको पूर्ण विवरण अझै संकलन भएन

। फोटो स्रोत ।
२०७९ माघ १२, ०५:३३ कमल सावद

धनगढीः बाजुरामा मंगलवार आएको भूकम्पका कारण भएको क्षतिको विवरण अझै संकलन गरिएको छैन्। जिल्लामा भूकम्प आएको तीन दिन भएको छ। तर क्षतिको विवरण संकलनको काम पूरा भएको छैन्। जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा भएकाले भूकम्पले गरेको क्षतिको विवरण संकलनको काममा ढिलाई भएको हो। जिल्लाका दुर्गम क्षेत्रका घर तथा भौतिक संरचनाहरुमा भूकम्पले क्षति गरेको छ। स्थानीय प्रशासनले क्षतिको विवरण संकलनको काम जारी राखेको छ। भूकम्प प्राविधिकको समूह पनि क्षति भएको क्षेत्रमा गएको छ।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर मंगलवार दिउसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नटूड्को भूकम्प आएको थियो। उक्त भूकपम्पको कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। अन्य तीन जना घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार गौमुल गाउँपालिकाकै वडा नम्वर १ का ३५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका वडा नम्बर २ कि ४५ वर्षीया चन्दा महत र हिमाली गाउँपालिकाकी सरिता नेपाली घाईते भएकी हुन्। भूकम्पले ढुङ्गा खस्दा पशुचौपायासमेत मरेका छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार क्षतिको विवरण संकलनको काम जारी छ। जिल्लामा मंगलवारको भूकम्पका कारण आठ स्थानीय तहमा क्षति भएको छ। जिल्लाका आठ स्थानीय तहका ६० घरमा पूर्ण क्षति, ५९ मा आंशिक र एक सय ३ र ५ सरकारी भवनमा आशिंक क्षति भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

जिल्लामा वर्षा तथा हिमपात भएका कारण क्षतिको विवरण संकलनमा समस्या भएको स्थानीय प्रशासनले बताएको छ। भूकम्प पीडितले बर्साद तथा हिमपातको समयमा त्रिपालमुनी बस्न बमध्य भएको बताएका छन्। बिहीवार भने जिल्लामा घाम लागेको छ।

भूकम्पले गरेको क्षतिको अध्ययनका लागि समूह

बाजुरा जिल्लामा भूकम्पले गरेको क्षतिको पूर्ण विवरण संकलनका लागि प्राविधिकको समूह जिल्लामा पुगेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समूह जिल्लाको भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो। प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले क्षतिको प्राम्भिक विवरण संकलनको काम जारी रहेको बताए। उनले क्षतिको पूर्ण विवरण संकलनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समूह जिल्लामा आएको बताए। जिल्लाको बडिमालिका नगरपालिका, हिमाली र गौमुल गाउँपालिकामा भूकम्पले बढी क्षति गरेको छ। जिल्ला कारागारको सुरक्षाकार्डको व्यारेक, बिच्छया प्रहरी चौकी, कुन्ना प्रहरी चौकीमा पनि भूकम्पले क्षति गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस