सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको भीम रावलसँग जम्काभेट

२०७९ माघ १२, ०३:५२ कमल सावद

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलको भीम रावलसँग जम्काभेट भएको छ। बिहीवार काठमाण्डौँबाट फर्किएका मुख्यमन्त्री रावलको धनगढी विमानस्थलमा एमालेका नेता भीम रावलसँग भेट भएको हो। 

पूर्व उपप्रधानमन्त्री रावलसँग मुख्यमन्त्री रावलको विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो। उनीहरु बिचमा समसामयिक राजनीतिको विषयमा कुराकानी भएको थियो। एमालेका नेता रावलले मुख्यमन्त्रीलाई विश्वासको मतको विषयमा जिज्ञाशा राखेका थिए। मुख्यमन्त्री रावलले सत्ता गठबन्धनमा रहेका दलहरुसँगको छलफलपछि मात्र विश्वासको मत लिने बताएका थिए। एमालेका नेता भीम रावलले अछामका समस्याहरु पनि मुख्यमन्त्री रावललाई सुनाएका छन्। मुख्यमन्त्री रावलले पहलकदमी गर्ने बताएका थिए। 

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावल पनि एमालेका नेता हुन्। उनले प्रदेश सभाबाट विश्वासको मत लिन बाँकी छ। नागरिक उन्मुक्तिको प्रमुख मुद्दा रहेको रेशम चौधरीको रिहाका विषयमा कुरा अझै मिलेको छैन्। नागरिक उन्मुक्तिले विश्वासको मत नदिए, सुदूरपश्चिमका मुख्यमन्त्री रावल अल्पमतमा पर्छन्। काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्ला हुने छ।

प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेश सभाबाट बहुमत तथा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक हुन्छ।

मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुसँग छलफल गरेका छन्। उनी बिहीवार मात्र धनगढी फर्किएका हुन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस