सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन देशलाई उछिन्दै धनगढीकी ऋचाले हात पारिन उत्कृष्ट अभिनेत्रीको अवार्ड

२०७९ माघ ९, ०१:०५ खबर संवाददाता

धनगढीः विश्वका तीन ठुला मुलुकलाई पछाडि पार्दै धनगढीकी ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन्। अस्ट्रेलियामा सम्पन्न ‘टाइटान फिल्म फेस्टिभल’मा वर्षकै उत्कृष्ट अभिनेत्रीको अवार्ड सुदूरकी चेली ऋचाले जितेकी हुन्।

अस्ट्रेलियाको प्रतिष्ठित फेस्टिभलमा ऋचाले आफू अभिनित सर्ट सिनेमा ‘ब्लड मनी’बाट अवार्ड जित्न सफल भएकी हुन्। सिनेमामा ऋचाले वैदेशिक रोजगारमा गएका एक युवकको पत्नीको भूमिका निर्वाह गरेकी छन्। २०२२ संस्करणको तेस्रो त्रैमासिकको प्रतिस्पर्धामा ऋचाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै वार्षिकी अवार्डको लागि स्वतः मनोनयनमा परेकी थिइन्।

उनले अन्तिम प्रतिस्पर्धामा इजरायलकी शिरा फरबर, अमेरिकाकी केटी ओ’निल र भारतकी तनिष्ठा चटर्जीलाई पछाडि पार्दै पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भइन्। यो वर्ष सय भन्दा बढी सिनेमा प्रतिस्पर्धामा थिए। हाल अस्ट्रेलियामा रहेकी धनगढीकी ऋचा अवार्डसहित बुधवार नेपाल फर्किदै छिन्।

उक्त फेस्टिभलमा वर्षको उत्कृष्ट सिनेमाको अवार्ड नर्वेको ‘लंग फ्ल्याट बल्सः ब्रोकन प्रमिसेस’ले जितेको छ। अशोक तिमल्सिनाको लेखन तथा निर्देशन रहेको ‘ब्लड मनी’ले पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथा वाचन गर्छ। फेस्टिभलमा ‘ब्लड मनी’को कथाबस्तुबारे चर्चा भएको र आगन्तुकले चासोका साथ सिनेमा हेरेको निर्देशक तिमल्सिनाले बताए।

यसअघि यो सिनेमाले विश्वका बिभिन्न फेस्टिभलमा उत्कृष्ट सिनेमाको अवार्ड जितिसकेको छ। सिंगापुरको वर्ल्ड फिल्म कार्निभल, व्हाइट पर्ल इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट सिनेमाको अवार्ड जितेको सिनेमा थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट पनि भएको छ।

२७.४२ मिनेट लामो सिनेमामा ऋचासंगै मिथिला शर्मा, अशोक तिमल्सिना, मार्क एन्थोनी नुन्नरी, पारस तिमल्सिना, सौरभ पौडेललगायतका कलाकारहरुको अभिनय छ। पारस तिमल्सिनाले निर्माण गरेको सिनेमामा एलिश कार्कीको ब्याकग्राउण्ड म्युजिक र शाहील खानको सम्पादन रहेको छ।
 

कमेन्ट लोड गर्नुस