दीपेन्द्र स्वाँर स्मृति कपः वात्सल्य र लिटल फ्लावर विजयी
धनगढीः धनगढीमा जारी दीपेन्द्र स्वाँर स्मृति (डीसीए) कप विद्यालय स्तरीय क्रिकेट प्रगतियोगितामा कञ्चनपुरको वात्सल्य विद्या निकेतन र लिटल फ्लावर इङ्लिस स्कुल विजयी भएका छन्।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार बिहान भएको खेलमा वात्सल्यले कैलाली विद्या निकेतनलाई ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो। उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे। वात्सल्यका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए।
यस्तै, जवाफी ब्याटिङमा वात्सल्यले ६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो। उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले। अतिरिक्त मार्फत वात्सल्यले २० रन पायो। कैलालीका मुकेश साहले ३ किवेट लिए। दिउँसो भएको खेलमा लिटल फ्लावर इङ्लिस स्कुलले त्रिनगर माविलाई १० विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।
लिटल फ्लावरका रोशन रावल र सुवोध तिवारीले समान ३/३ विकेट लिए। त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २/२ विकेट हात पारे।
जवाफी ब्याटिङमा लिटिल फ्लावरले ३ दशमलव २ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो। उसका आरिष बोहराले ३० तथा यशकुमार कठायतले ८ रन जोडे। खेलको म्यान अफ द म्याच लिटल फ्लावरका रोशन रावल भए।
माघ १६ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पुरस्कार पाउनेछ। प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार नगदसहित डीसीएमा क्रिकेट सिक्न ४ महिनाको छात्रवृत्ति पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताएका छन्। वेस्ट बलर र बेस्ट ब्याटरले ३/३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने उनलदे बताए।
डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वाँरको सडक दुर्घटनामा निधन भएको थियो। उनको स्मृतिमा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आएको छ। प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैँक, नवजीवन अस्पताल तथा सौराई स्क्वायरले प्रायोजन गरेको छ।