सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको हिमाली क्षेत्रमा हिमपात

२०७९ माघ ६, ०५:१३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात हुँदा चिसो बढेको छ। बिहीबार बिहानैबाट मौसममा बदली भएर हिमपात सुरु भएको अपिहिमाल गाउँपालिकाका स्थानीय पार्वती बोहराले बताए। मौसम बदली हुँदा जिल्लाभर चिसो बढेको छ।  

पहाडी क्षेत्रमा भने हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। खेतमा लगाएको हिउँदे अन्नबाली पानीको अभावमा सुक्न थालेको लेकम गाउँपालिका–५ का स्थानीय शम्भुराज जोशीले बताए। सिंचाइको सुविधा नपुगेको ठाउँमा लगाएका गहुँ, जौँ लगायत हिउँदे बाली सुकेर पहेलपुर भएका छन्। केही दिनयता घाम पनि नलागेपछि चिसोले जिल्लाभरीको जनजीवन प्रभावित भएको छ। 

वर्षभरी बजारबाट किनेर खाद्यान्नको जोहो गर्न नसक्ने परिवारका सदस्यले भोकमरी हुने चिन्ता व्यक्त गरिरहेका छन्। ‘सिंचाई सुविधा नपुगेको ठाउँमा त हरियाली देख्नै मुस्किल छ’, उनले भने, ‘आशिंक सिंचाई सुविधा पुगेका खेतमा समेत वर्षा नहुँदा खोलाको पानी सुकेर बाली सप्रिन पाएको छैन्। बर्खामा मकैबाली राम्रै फल्ने भए पनि सिंचाई अभावमा हिउँदे बाली सुक्ने गरेको स्थानीय जनक जोशीले बताए। 

कमेन्ट लोड गर्नुस