सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली किनारको कौवाक्षेत्रमा आगलागी, टेलिकको लिंक टावर बन्द

२०७९ माघ ४, ०६:३५ खबर संवाददाता

दार्चुलाः दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र व्यासको छाङरु गाउँ नजिकै कौवा क्षेत्रमा आगलागी भएको छ। पुस १४ गते भएको आगलागीबाट सयौं रुख जलेका छन् भने ज्याक्ति भन्ने स्थानमा रहेको नेपाल टेलिकमको लिंक टावर बन्द भएको छ। मोबाइल टावर कौवाक्षेत्रको वनमा नोक्सानी भएको उक्त आगलागीको कारण दुई हप्तासम्म खुलेको छैन। 

हिमपात र अत्यधिक चिसोका कारण व्यासका स्थानीय वासिन्दा सदरमुकाम झरिसकेका छन्। स्थानीय वासिन्दा नभएको बेला भएको आगलागी कसले र किन ग¥यो भन्ने प्रश्न उठेको छ। अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्र छ। सुरक्षाकर्मीको टोली व्यासमै रहेको बेला भएको आगलागीले व्यासका स्थानीयमा शंका उब्जिएको छ। छाङरु गाउँबाट ३ किलोमिटरको दूरीमा अवस्थित कौवाक्षेत्रको बसुन्धरा जंगलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट केही रुख र झाडी जलेको छ भने टेलिकमको लिंक टावरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।

कौवाक्षेत्रमा भएको आगलागी भोलिपल्टै नियन्त्रणमा लिइएको छाङरुस्थित सशस्त्र प्रहरी बलको ५१ नम्बर गुल्मका गुल्मपति डिएसपी ईश्वरीदत्त भट्टले बताए। शुरुमा टेलिकमको टावरमा राखिएको सौर्य उर्जा प्रणालीमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरी र सशस्त्र प्रहरीले जनाएको छ।

आगलागी वनक्षेत्रमा भएको र टेलिकमको टावरसम्म वनक्षेत्रबाट आगो पुगेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताएका छन्। कौवाक्षेत्रको वनमा आगलागी भएको जानकारी प्राप्त भए पनि क्षतिको विवरण र आगलागीको कारण खुल्न नसकेको अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। 

कौवाक्षेत्रमा भएको आगलागीबारे जानकारी प्राप्त भएको र यस्ता घटनामाथि निगरानी बढाउन र सुरक्षा गस्ती बढाउन निर्देशन दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए्। आगलागीबाट अवरुद्ध मोबाइल सेवा सञ्चालनका लागि १÷२ दिनमै टेलिकमको प्राविधिक टोली छाङरु पठाउन लागिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए्।

कमेन्ट लोड गर्नुस