अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या
एजेन्सीः अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो।
काबुलस्थित आफ्नै घरमा बसिरहेका वेला उनीमाथि गोली प्रहार थियो। आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका छन्। गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ।
नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन्। तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन्।
अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन्।