प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात
धनगढी: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ। ५० रनको झिनो लक्ष्यलाई प्रदेश १ ले ११.४ ओभरमै पूरा ग¥यो। दोस्रो खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई ३३ रनले हरायो।
युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो। कविताले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रन जोडिन। ऋतु कनोजिया २१ बलमा ४ चौकासहित २७ रनमा अविजित रहिन।
कप्तान बिन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए। रुवि पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए। वाग्मतीकी तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन। यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्यायले १/१ विकेट लिए।
वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रनमात्र बनाउन सकियो। कञ्चन श्रेष्ठ २१ बलमा १ चौकासहित सर्वाधिक १६ रन बनाए। ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अस्मिना कर्माचार्य १३ र खुसी डंगोलले १४ रन बनाए। ऋतुले ४ ओभरमा १० र मनीषा उपाध्यायले ४ ओभरमा २० रन खर्चेर २÷२ विकेट लिए।