सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देउडा प्रतियोगिता हुने, प्रथमलाई ५० हजार

२०७९ पुष २९, ०५:५६ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा प्रादेशिक खुल्ला देउडा प्रतियोगिता आयोजना गरिने भएको छ। देउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी माघ २०, २१ र २२ गते धनगढी स्थित साहित्य समाजको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो। 

शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले आगामी माघमा प्रदेश स्तरकै सर्वाधिक धनराशिको देउडा प्रतियोगिता आयोजना गरिने बताए। उनका अनुसार माघ २०, २१ र २२ गते प्रतियोगिता आयोजना गरिने छ। तीन दिनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि पौष ३० गतेबाट समूह दर्ता खुला गरिने छ। 

प्रतियोगितामा सबै जिल्लाबाट एक समूह अनिवार्य सहभागी गराइने र त्यस भन्दा बढी समूहको सहभागिता समेत हुनसक्ने आयोजकले जानकारी दिएको छ। देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको रावतले बताए। 

प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटले बताए। साथै प्रत्येक दिन प्रतियोगितामा सहभागी मध्य एक जना देउडियालाई नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले जानकारी दिए। 

पत्रकार सम्मेलनमा अध्यक्ष दल बहादुर बोगटी, वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’, प्रथम उपाध्यक्ष भक्तराज जोशी, कोषाध्यक्ष प्रेम विवश चन्द, सचिव माया पाण्डे, सदस्यहरू मेघा भट्ट, गगन सिंह ऐर, डिल्ली राज जोशी, सरिता कठायतलगायतको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस