२४ मन्त्री, ४ प्रदेश प्रमुख र तीन प्रधानमन्त्रीसँग सहकार्य गरेर विदा भए भट्ट
धनगढीः निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले २०७४ साल फागुन ५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट विजयी प्रदेशसभा सदस्य त्रिलोचन भट्टको नेतृत्वमा पहिलो प्रदेश सरकार गठन भएको थियो। अन्य प्रदेशमा मुख्यमन्त्री फेरबदल भए पनि मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भने पाँच वर्षे कार्यकाल पूरा गर्ने अवसर पाएका हुन्। सबैको सहयोगमा आफूले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेको निवर्तमान मुख्यमन्त्री भट्टले बताएका छन्।
'सबैको सहयोगले मैले पूरा कार्यकाल काम गर्न पाए,’ उनले भने, ’मैले २५ जना मन्त्री, ५३ जना प्रदेश सभा सदस्य र सबै पार्टीका केन्द्रिय र प्रदेश नेतृत्वको सहयोगमा काम गर्ने अवसर पाएको हुँ, म सबैलाई धन्यवाद दिन चाहान्छु।’
सुदूरपश्चिममा सरकारको नेतृत्व परिवर्तन नभए पनि सरकारमा मन्त्रीहरू परिवर्तन हुने सिलसिला भने चलि रह्यो। पहिले दुई पार्टी (नेकपा एमाले र नेकपा माओवादी) को, त्यसपछि एक पार्टी (नेकपा) र अन्तिममा आएर तीन पार्टी नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा समाजवादी) को गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर निवर्तमान मुख्यन्त्री भट्टले पाएका थिए। भट्टले दुई पटक अविश्वासको मत प्रस्तावको सामना गरे पनि सहजै प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका थिए। मुख्यमन्त्री भट्टले पाँच वर्ष प्रदेश सरकारको कुशल नेतृत्व गरेको नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर शाहले बताए।
'निवर्तमान मुख्यमन्त्रीले प्रदेश सरकारलाई विवादरहित ढंगले नेतृत्व गर्नु भएको छ,’ उनले भने, ’कुनै विवादमा नपरेर उहाँले कार्यकाल पूरा गर्नु भएको छ।’
आफ्नो नेतृत्वको सरकारले संघीयताको जग बसाल्ने काम गरेको निवर्तमान मुख्यमन्त्रीले बताएका छन्। पहिलो चरणमा सत्ता सहकार्य गरेका साथी प्रतिपक्षमा र प्रमुख प्रतिपक्षीलाई साथमा लिएर सरकार चलाउने अवसर भट्टले पाएका थिए। सरकारमा सहभागी भएका २४ जना मन्त्री, ५३ जना सांसद, प्रमुख सचिव तथा सचिव र कर्मचारी वर्गको सहयोगले काम गर्न सहज भएको निवर्तमान मुख्यमन्त्री र मन्त्रीहरूले बताएका छन्। निवर्तामान मुख्यमन्त्री भट्टसँग प्रमुख प्रतिपक्षी दलको नेता र मन्त्री भएर काम गर्दा सहकार्य गरेरै अगाडि बढेको निवर्तामान मन्त्री एवं काँग्रेस नेता डाक्टर रणबहादुर रावलले बताए।
'सुरुमा प्रमुख प्रतिपक्षी दलको नेता र पछि मन्त्रीको रुपमा सरकारमै बसेर काम गर्ने अवसर मिलेको थियो,’ उनले भने, ’प्रतिपक्षी रहदा र सरकारमा सहभागी हुँदा दुबै अवस्थामा नेपाली काँग्रेसले जिम्मेवार भएर काम गरेको छ। हामीले प्रदेश सभा र सरकारको जग बसालेका छौँ। यसमा हामीले खुसी हुनुपर्छ।’
निवर्तमान मुख्यमन्त्री भट्टले चार जना प्रदेश प्रमुखसँग काम गर्ने अवसर पाएका थिए। उनको कार्यकालमा मोहनराज मल्ल, शर्मिलाकुमारी पन्त, गंगाप्रसाद चौधरी र देवराज जोशीले प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए। यस्तै, भट्टले ३ जना प्रधानमन्त्रीसँग सहकार्य गर्ने अवसर पाएका थिए। केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग काम गर्न पाउनु अवसर भएको भट्टले बताएका छन्।
को हुन् भट्ट नेतृत्वमा मन्त्री बनेको २४ जना
मुख्यमन्त्री त्रिलोचन भट्टले २४ जना मन्त्रीसँग सहकार्य गर्ने अवसर पाएका थिए। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलले भट्टलाई विश्वासको मत दिनुपर्ने अवस्था निर्माण भएको थियो। कार्यकालको अन्तिममा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको थियो भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रसे सत्ता सहयात्री बनेको थियो।
भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारमा दीर्घबहादुर सोडारी र प्रकाश रावलले दोहोरिएर मन्त्री हुने अवसर पाएका थिए। दुबै जना नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीका नेता हुन्। अहिले दुबै जना सोही पार्टीबाट प्रत्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
यस्तै, नेपाली काँग्रसेसका डाक्टर रणबहादुर रावल, गोविन्दराज वोहरा, मन्त्री बनेका थिए भने टेकबहादुर रैका राज्यमन्त्री भएका थिए। २०७४ मा माओवादीबाट आर्थिक मामिला मन्त्री बनेका झपट रावलले नेकपा विभाजन हुँदा मन्त्री पद त्याग गरेर नेकपा एमालेमै बस्ने निर्णय गरेका थिए। नेकपा माओवादी केन्द्रबाट विनितादेवी चौधरीले पूरा कार्यकाल मन्त्री हुने अवसर पाए भने मानवहादुर धामी पनि मन्त्री भएका थिए। माओवादीका मानबहादुर सुनार राज्यमन्त्री भएका थिए।
भट्ट नेतृत्वमा नेकपा एमालेबाट प्रकाशबहादुर शाह दुई पटक मन्त्री बनेका थिए। यस्तै, एमालेका पठानसिंह वोहरा, कृष्णराज सुवेदी र तारा लामा तामाङ मन्त्री र कुलविर चौधरी तथा अर्चना गहतराजले राज्यमन्त्री हुने अवसर पाएका थिए। माया भट्ट एमालेबाट मन्त्री भए पनि पार्टी विभाजन हुँदा समाजवादीमा लागेका थिए। यस्तै, तारा लामा तामाङ, कुलविर चौधरी, माया तामाङ बोहरा स्थानीय तहको निर्वाचनपछि समाजवादी परित्याग गरेर एमालेमै फर्किएका थिए।
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीका सबैभन्दा बढी प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाएका थिए। दीर्घबहादुर सोडारी र प्रकाश रावलजस्तै पूर्णा जोशी, लालबहादुर खड्का समाजवादीबाट मन्त्री बनेका थिए भने सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, मनाकुमारी साँउद, बलबहादुर सोडारी, अमरबहादुर साउँद र माया तामाङ बोहराले राज्यमन्त्री हुने अवसर पाएका थिए।