सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चक्रपथ निर्माणको काम ठप्प

२०७५ चैत्र १२, ०२:३४ कमल सावद

निर्माण अवधी सकिन दुई महिना मात्र बाँकी रहेका बेला धनगढी उप–महानगरपालिका क्षेत्रमा निर्माण भइरहेको चक्रपथको काम ठप्प रहेको छ। विभिन्न कारण देखाउदै चक्रपथ  निर्माणमा ढिलाई गरिदै आएकोमा पछिल्लो समय काम नै ठप्प रहेको हो। धनगढीका जनताको पक्की सडक सपनालाई पूरा गर्ने उद्देश्यले निर्माण थालिएको धनगढी चक्रपथको काम ठप्प रहेको हो। चक्रपथ अन्र्तगत नगर क्षेत्रको साढे १५ किलोमिटर सडक कालोपत्रे गर्ने अवधी आउँदो जेठमा सकिदैछ तर वडा नम्बर १२ को जुगेडा बी गाउँको तीन किलोमिटर सडक कालोपत्रे भएपनि अधिकांश सडक क्षेत्रमा नाली समेत निर्माण भएको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रशाद जोशीले सडक कालोपत्रे भएपनि कल्भटी निर्माण नभएको बताए।

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले चक्रपथ निर्माणलाई तिव्रता दिन निर्माण कम्पनीलाई आग्रह गरिएको दावी गरे। चक्रपथ निर्माणका लागि संघीय सहरी विकास कार्यालयले २९ करोड ९३ लाखमा १५ दशमलव ५२ किलोमिटर सडक निर्माणका लागि सम्झौता गरेको थियो। लुम्बिनी राजेन्द्र केएस जेभिले निर्माण थालेको चक्रपथको १२ किलोमिटर कालोपत्रेको काम बाँकी रहेको छ। कैलाली भन्सारदेखि बोराडाँडी सम्मको पहिलो खण्डमा पनि नाली निर्माण भएको छैन्।

९ किलोमिटर लम्बाई रहेको पहिलो खण्डमा एक किलोमिटर ड्ुवान क्षेत्रमा नाला निर्माण गर्ने योजना थपिएको छ। तर लुम्बिनी राजेन्द्र केसी जेभिका प्राविधिक टेक पालले कामलाई तिव्रता दिएर निर्धारित समयमै निर्माण सम्पन्न गरिने दावी गरे। उनले २० दिन भित्र चक्रपथ निर्माण सकिने दिनेश खबरलाई बताए। चिसो मौसमका कारण केही समय काम रोकिएको उनको भनाई छ। दोस्रो खण्डको ३ दशमलव ३ किलोमिटरमा धेरै कल्भर्ट निर्माण पुर्ण भएको छैन्। निर्माण कम्पनी लुम्बीनी राजेन्द्र केएस जेभिले निर्माण सामाग्री जम्मा गरेको दावि गर्दै आएको छ। चक्रपथ  निर्माणको समय सकिन दुई महिना मात्र बाँकी छ। यो अवधिमा १२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका सूचना अधिकारी तथा ईन्जिनियर श्यामचन्द्र बुढाथोकीले चक्रपथ निर्माणको कामलाई तिव्रता दिन निर्माण व्यवसायीलाई आग्रह गरिएको बताए।  
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस