सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराजलाई साक्षी राखेर रावलले बुधवार मुख्यमन्त्रीमा दाबी पेस गर्ने

२०७९ पुष २६, ०७:२१ कमल सावद

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावलले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि बुधवार दाबी पेस गर्ने भएका छन्।

उनले एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चिार्ज लेखराज भट्टसहितको सहभागितामा प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका हुन्। माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई लेखराज भट्टले मुख्यमन्त्री बनाएको दाबी गरिएका बेला एमाले संसदीय दलका नेता रावलले पनि लेखराजलाई साक्षी राखेर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन्।

सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमती अनुसार रावलले भोलि मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। रावलले सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरु पनि काठमाण्डौमा रहेकाले हस्ताक्षर संकलनको काम पनि बाँकी रहेको बताएका छन्। सुदूरपश्चिममा एमाले नेतृत्वमा माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा प्रदेश सरकार गठन हुने रावलको दाबी छ। 

प्रदेश प्रमुख देवराज जोशीले दिएको समय पुस २७ गते बुधवार सकिदैछ। बुधवार नै मुख्यमन्त्रीमा रावलले दाबी पेश गर्न लागेका हुन्। सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ। प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा एमाले संसदीय दलका नेता रावल नेतृत्वमा बहुमतको सरकार गठनको कसरत जारी छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस