सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झौता अवधि सकियो, हुलाकी राजमार्ग कैलालीमा ६० प्रतिशत निर्माण अधुरै

२०७९ पुष २६, ०२:५४ कमल सावद

धनगढीः धनगढीको क्याम्पस चोक–कटनी खोला ७ किलोमिटर सडक कालोपत्रका लागि २०७७ असार १४ गते सम्झौता भयो। २०७९ पुस १३ गतेभित्र सडक निर्माणको काम सक्नुपर्ने हो। तर स्वच्छन्द जोशी जेभीले काम सकेको छैन। ३७ करोड ४२ लाख ८३ हजार नौ सय १४ रुपैयाँको लागत रहेको यो खण्डमा सडक निर्माणको काम जारी छ। धनगढीमा तीन किलोमिटर सडक चार लेनमा स्तरवृद्धिसँगै बाँकी खण्डमा दुई लेनमा सडक निर्माण हुँदैछ।

हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले धनगढीमा सडक कालोपत्रको तयारीमा रहेको बताए। धनगढी क्याम्पस चोक–कटानी खोला १२ किलोमिटर सडक खण्डको २०७७ असार १४ गते सम्झौता भयो। स्वच्छन्द जोशी जेभीसँग नै ३२ करोड ३० लाख ८३ हजार २ सय ४२ रुपैयाँको लागतमा सडक निर्माणको सम्झौता गरिएको हो।

क्याम्पस चोक–कटानी खोलाको अर्काे ठेक्का पनि १२ किलोमिटरको छ। स्वच्छन्द जोशी जेभीसँग २७ करोड ८५ लाख ६२ हजार ४ सय ९० रुपैयाँको लागतमा यो खण्ड निर्माणका लागि सम्झौता भएको थियो। कान्द्रा–ठेकीपुर–सत्तिबजार–कर्णाली पुल सडकको लम्बाई १३ किलोमिटर छ। हुलाकी राजमार्गको यो खण्डको सडक निर्माणका लागि २०७७ असार १४ गते नै कालिका जोशी जेभीसँग ३२ करोड ६२ लाख ३९ हजार ६ सय ३८ रुपैयामा सम्झौता भएको थियो।

धनगढीदेखि सत्तीसम्मको ६९ किलोमिटरमा १८ किलोमिटर मात्र सडक कालोपत्रको काम सकिएको छ। कैलालीको लम्की–टीकापुर खक्रौला ८ किलोमिटर स्तरवृद्धिका लागि २०७७ जेठ २८ गते सम्झौता भयो। ४० करोड १९ लाख ९१ हजार ६ सय १६ रुपैयाको लागतमा कालिका कुमार जेभीले २०७९ मंसिर २७ मा पूरा गर्नुपर्ने हो। लम्की–टीकापुर–खक्रौला सडकको अर्काे खण्डमा १० किलोमिटर स्तरवृद्धिका लागि २०७७ जेठ २६ गते एपेक्स–खड्का–कृष्ण जेभीसँग सम्झौता गरिएको छ।

४० करोड ९९ लाख ९ हजार ६ सय ८३ रुपैया लागतको यो सडक निर्माणको काम २०७९ मंसिर २५ मा पूरा गर्न सम्झौता भएको थियो। लम्की–टीकापुर–खक्रौला सडकको ११ दशमलव ७१ किलोमिटर सडक निर्माणका लागि राइमाझी–गाल्वा–जगदम्बा जेभीसँग २०७७ असार १४ गते सम्झौता भएको छ। ३३ करोड २० लाख ६६ हजार ६ सय ३० रुपैयाको लागतको यो सडक २०७९ पुस १३ गतेसम्म पूरा गर्नुपर्ने थियो। तर लम्की–टीकापुर ३० किलोमिटरको ४० प्रतिशत मात्र काम पूरा भएको छ।

उक्त खण्डमा साढे २ किलोमिटर मात्र सडक सम्झौताको समय अवधिमा कालोपत्र गरिएको छ। कैलालीमा ९९ किलोमिटर हुलाकी राजमार्गमा २७ किलोमिटर मात्र सम्झौताको समय भित्र कालोपत्रको काम  सकिएको छ। बाँकी क्षेत्रको सडक निर्माणका लागि समय अवधि थप गरिएको छ। एक वर्षका लागि जिल्लामा हुलाकी सडक निर्माणको समय थप गरिएको हो। कैलालीमा हुलाकी राजमार्ग निर्माणको समय अवधि सकिदा पनि ६० प्रतिशत काम बाँकी छ।

जिल्लामा ९९ किलोमिटर सडक स्तरवृद्धिसहितको कालोपत्रका लागि २०७७ मा ठेक्का सम्झौता गरिएको थियो। तर जिल्लामा हुलाकी राजमार्ग निर्माणको आधा काम पनि सम्झौता अवधिभित्र सम्पन्न भएको छैन्। जिल्लाको लम्की–टीकापुर–खक्रौला तथा खक्रौला–धनगढी गरेर ९९ किलोमिटर सडकको ४० प्रतिशत काम सकिएको छ। यो क्षेत्रमा सडक निर्माणको काम सम्झौता अवधिमा नसकिएपछि समय थपिएको छ। धनगढीको क्याम्पस चोक–मोहना नदी ७ किलोमिटर सडक कालोपत्रको काम भने पूरा भएको छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस