सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको मातृशिशु भवन ५ वर्षदेखि अधुरै

२०७९ पुष २५, ०७:२५ नारायण अवस्थी

धनगढीः सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सेती प्रादेशिक अस्पतालमा नयाँ भवन निर्माण गर्न थालेको गत कार्तिकमा ५ वर्ष पूरा भएर छैटौं लागेको छ। २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता हुँदा निर्माण कम्पनी रविना÷थेगिम जेभी, धनगढीले ३० महिना अर्थात २०७७ बैशाख २७ गते निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो।

तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा दोब्बर समयमा पनि काम सकेको छैन। जसका कारण सेती प्रादेशिक अस्पताललाई बहिरङ्ग सेवा र विस्तारित स्वास्थ्य सेवा सञ्चालन गर्न समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।

'भवन निर्माण सुरू भएको यतिका वर्षसम्म पनि सम्पन्न नहुँदा हामीलाई सेवा प्रवाहमा समस्या भएको छ, 'उनले भने, 'पुरानो ओपिडी भवन भत्काउनु पर्ने छ तर नयाँको काम अधुरो हुँदा सेवा सार्न सकिएको छैन।' धनगढीको निर्माण कम्पनी रविना/थेगिम जेभीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो।

२०७७ बैशाखदेखि पटकपटक म्याद थप्दा पनि भवनको काम सक्न  निर्माण कम्पनी असफल भएको छ। तोकिएको समयभन्दा दोब्बर समय थप्दा पनि अस्पताल भवनको भुइँ तलाको काम समेत सकिएको छैन। अस्पतालको पुरानो ओपिडी भवन सडक क्षेत्राधिकारभित्र पर्ने भएकाले नयाँ सडक निर्माण गर्न भत्काउनु पर्ने भएको हो।

धनगढी उपमहानगरपालिकाले भवन भत्काउन ताकेता गर्दै आएको अध्यक्ष शाहले बताए। 'पुरानो भनवमा रहेको ओपिडी सेवा नयाँ भवनबाट सुरू गर्न काम सम्पन्न नहुँदा अस्पताललाई समस्या भएको छ,  'उनले भने, 'नयाँ भवन निर्माण सम्पन्न गर्न सके ओपिडीसँगै विस्तारित सेवा सुरु गर्न अस्पताललाई सहज हुने थियो। हामीले पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन।'

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले अस्पताल भवनको भौतिक प्रगति ८० प्रतिशत भएको जनाएको छ। अस्पताल भवनमा स्यानिटरी, बिजुली, पानी, रङ्ग रोगन र फ्लोर फिनिसिङको काम बाँकी रहेको छ। सुस्त गतिमा निर्माण कम्पनीले काम गर्दा समस्या पटकपटक म्याद थप्दा पनि काम नसकिएको हो।

पछिल्लोपटक २०७९ कात्तिक २९ गते कम्पनीलाई थपिएको म्याद पनि सकिएको छ। तर, निर्माण कम्पनीले अन्तिम पटक असार मसान्तसम्म म्याद थप्न प्रस्ताव गरेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख इन्जिनियर मोहनराज अवस्थीले बताए।

'अस्पताल भवन सम्पन्न गर्नुपर्ने पछिल्लो म्याद कात्तिक २९ गते सकिएको हो, 'उनले भने, 'कम्पनीले आगामी असार मसान्तसम्मको म्याद थप गर्ने प्रस्तावसहितको फाइल पेस गरेको छ। हामीले त्यो फाइल विभागमा पठाएका छौँ।'

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस