सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीसहित नीजि सचिवालयका कर्मचारीको नाममा साढे एक करोड खर्च

मुख्यमन्त्रीका छोराले बुझे ७ लाख ४१ हजार

२०७९ पुष २४, १२:३४ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठन गर्दा २०७४/७५ मा मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालय चार सदस्यको थियो। मुख्यमन्त्रीमा भट्ट, प्रमुख स्वकीय सचिवमा शिवसिँह ओली, स्वकीय सचिवमा प्रेमबहादुर कँवर र कार्यलय सहयोगीमा दीपक गड्सिला। दुई आर्थिक वर्षसम्म चार जनाको समूह मुखयमन्त्रीसँग थियो। २०७६/७७ देखि सवारी चालक दिपेश नेपाली थपिए। २०७७/७८ मा प्रशासन सहायकमा विकास भट्ट पनि थपिए। 

मुख्यमन्त्री त्रिलोचन भट्टका छोरासमेत रहेका विकासले तीन आर्थिक वर्षमा सात लाख ४१ हजार ६ सय ८० रुपैया बुझेका हुन्। प्रशासन सहायक भट्टले आर्थिक वर्ष २०७७/७८ मा पारिश्रमिक र चाडपर्व खर्चमा एक लाख १२ हजार आठ सय, २०७८÷७९ मा तीन लाख ९२ हजार ६ सय र चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म दुई लाख ३६ हजार २ सय ८० रुपैयाँ बुझेका हुन्। 

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार प्रमुख स्वकीय सचिव शिवसिँह ओलीले चालु आर्थिक वर्षको मंसिरसम्म २४ लाख ९३ हजार तीन सय ९१ रुपैया पारिश्रमिक तथा चाडपर्व चर्ख बुझेका छन्। आर्थिक वर्ष २०७४/७५ मा एक लाख ७१ हजार एक सय, २०७५/७६ मा चार लाख ४४ हजार आठ सय ६०, २०७६/७७ मा पाँच लाख ५० हजार नौ सय ४०, २०७७/७८ मा पाँच लाख ५० हजार नौ सय ४०, २०७८/८९ मा  ६ लाख १६ हजार नौ सय ४० र चालु आर्थिक वर्षको मंसिरसम्म एक लाख ५८ हजार ६ सय ११ रुपैयाँ ओलीले बुझेका हुन्। प्रदेश सभा सदस्यमा विजयी भएका ओलीले मंसिरसम्मको पारिश्रमिक बुझेको मुख्यमन्त्री कार्यालयको अभिलेख छ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमबहादुर कुँवरले २३ लाख पाँच हजार ७ सय ४४ रुपैयाँ मंसिरसम्म बुझेका छन्। आर्थिक वर्ष २०७४/७५ मा एक लाख ५२ हजार पाँच सय, २०७५/७६ मा तीन लाख ९६ हजार पाँच सय, २०७६/७७ मा चार लाख ६७ हजार आठ सय ७०, २०७७/७८ मा चार लाख ६७ हजार आठ सय ७०, २०७८/७९ मा पाँच लाख ३५ हजार दुई सय ७० र चालु आर्थिक वर्षको मंसिरसम्म दुई लाख ८५ हजार सात सय ३४ रुपैयाँ कुँवरले पारिश्रमिक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बुझेका छन्। 

मुख्यमन्त्री त्रिलोचन भट्टका कार्यालय सहयोगी दिपक खड्सिलाले अहिलेसम्म १२ लाख ८४ हजार पाँच सय ७२ रुपैया पारिश्रमिक र चाडपर्व खर्च बुझेका छन्। उनले आर्थिक वर्ष २०७४/०७५ मा ७४ हजार चार सय, २०७५/०७६ मा दुई लाख ५३ हजा। दुई सय ४०, २०७६/७७ मा दुई लाख ५३ हजार तीन सय ४०, २०७/०७८ मा दुई लाख ५३ हजार दुई सय ४०, २०७८/७९ मा दुई लाख ७९ हजा। दुई सय ४० र चालु आर्थिक वर्ष एक लाख ४८ हजार दुई सय १२ रुपैयाँ भुक्तानी गरिएको हो। मुख्यमन्त्रीका सवारी चालक दिपेश नेपालीले १० लाख ८३ हजार पाँच सय ६२ रुपैयाँ पारिश्रमिक र चाडपर्व खर्च बुझेका छन्। 

मुख्यमन्त्री त्रिलोचन भट्टले मंसिरसम्म ५२ लाख १६ हजार एक सय २५ रुपैयाँ पारिश्रमिक र चाडपर्व खर्च बुझेका छन्। मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयको तथ्याँक अनुसार २०७४/७५ मा चार लाख पाँच हजार, २०७५/७६ मा १० लाख ४३ हजार, २०७६/७७ मा १० लाख ४३ हजार, २०७७/७८ मा १० लाख ४३ हजार, २०७८/७९ मा ११ लाख ७१ हजार एक सय २५ र चालु आर्थिक वर्षको मंसिरसम्म पाँच लाख ११ हजार पारिश्रमिक र चाडपर्व खर्च मुख्यमन्त्री भट्टले बुझेका हुन। मुख्यमन्त्री भट्टसहितका उनको नीजि सचिवालयका कर्मचारीले अहिलेसम्म एक करोड ३१ लाख २४ हजार नौ सय ७४ रुपैयाँ बुझेका छन्। 

चालु आर्थिक वर्षको मंसिरसम्म भ्रमण शिर्षकमा मात्र एक लाख ३२ हजार चार सय खर्च भएको छ। गत आर्थिक वर्षमा २ लाख ६१ हजार पाँच सय २५ रुपैयाँ खर्च भएको थियो। सुरुवाती वर्षहरुमा मुख्यमन्त्री भट्ट र उनका सचिवालयका कर्मचारीले भ्रमण शिर्षकमा कुनै पनि खर्च नगरेको देखिएको छ। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका छोरा विकासका लागि तीन वर्षमा साढे सात लाख खर्च गरेको पाइएको हो। प्रदेशका मुख्यमन्त्री भट्टका छोरा विकास भट्टलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तीन आर्थिक वर्षसम्म प्रशासन सहायकको तलब सुविधा दिएको हो। मुख्यन्त्री भट्टले छोरा विकासलाई आफ्नो निजी सचिवालयमा राखेका हुन्। मुख्यमन्त्री भट्ट, प्रमुख स्वकीय सचिव शिवसिँह ओली, स्वकीय सचिव प्रेमबहादुर कुँवर, प्रशासन सहायक विकास भट्ट, कार्यालय सहयोगी दीपक खड्सिला र सवारी चालक दीपेश नेपालीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म साढे एक करोड रकम बुझेका छन्।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस